Paschim Express
डडेल्धुरामा नयाँ सिडिओको रूपमा जनार्दन गौतम हाजिर

डडेल्धुरा । डडेल्धुरामा जनार्दन गौतमले प्रमुख जिल्ला अधिकारी (सिडिओ) को रूपमा पदभार ग्रहण गरेका छन्। जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत सहसचिव गौतम बुधबार डडेल्धुरा आएर कार्यभार सम्हालेका हुन्।

पूर्व सिडिओ चोमेन्द्र न्यौपानेको गृह मन्त्रालयमा सरुवा भएपछि गौतम नयाँ सिडिओको रूपमा डडेल्धुरा आएका हुन्। शुक्रबार उनले जिल्लास्थित पत्रकारहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम गरे।

कार्यक्रममा सिडिओ गौतमले सरकारी सेवा क्षेत्रमा सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै जिल्लाका विकास निर्माणमा समन्वय र सहजीकरण गर्ने बताए।

गौतमले विकास कार्यमा लापरबाही र कमजोर गुणस्तर पाइएको खण्डमा सम्बन्धित निकायसँग समन्वय गरी कारबाही प्रक्रिया अघि बढाउने चेतावनी पनि दिए।

जिल्लामा बढ्दै गएको चोरी, तस्करी र सीमा क्षेत्रमा हुने अवैध गतिविधिमा निगरानी बढाइने उनको भनाइ थियो। आत्महत्या न्यूनीकरणका लागि गाउँ–टोलसम्म पुगेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले बताए।

साथै, लागुऔषध नियन्त्रणका लागि मोटरसाइकल र एम्बुलेन्सजस्ता सवारीसाधनको समेत नियमित चेकजाँच गरिने उनले जनाएका छन्। सार्वजनिक बिदामा बिना पास चल्ने सरकारी सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गरिने उनको भनाइ छ। सरकारी सवारीसाधनलाई व्यक्तिगत प्रयोजनमा प्रयोग नगर्न उनले निर्देशन दिए।

बजार अनुगमनलाई तीव्रता दिइने र सदरमुकाम बाहिरका गाउँबस्तीमा रहेको बजार क्षेत्रमा पनि निगरानी बढाइने उनले बताए। ग्रामीण सडकमार्गमा यात्रु क्षमता नाघी सञ्चालन भइरहेका गाडीलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिइएको छ।

बागलुङ घर भएका जनार्दन गौतम डडेल्धुरामा आउने तेस्रो सहसचिव सिडिओ हुन्। यसअघि यहाँ जगन्नाथ पन्त र बन्धुप्रसाद बास्तोला सहसचिव सिडिओको रूपमा कार्यरत थिए। लामो समयसम्म डडेल्धुरामा उपसचिव सिडिओहरूले जिम्मेवारी सम्हाल्दै आएका थिए।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update