Paschim Express
डडेल्धुरामा नाम मात्रैका ४ नमुना विद्यालय, एसईईकाे नतिजा लज्जास्पद

डडेल्धुरा । नेपाल सरकारले उत्कृष्ट शैक्षिक वातावरण, अत्याधुनिक भौतिक पूर्वाधार र विद्यार्थीको चौतर्फी विकासलाई लक्ष्य बनाएर सञ्चालनमा ल्याएको नमुना विद्यालय कार्यक्रम डडेल्धुरामा अपेक्षाअनुसार सफल हुन सकेको देखिँदैन।

शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराका अनुसार जिल्लामा चार वटा नमुना विद्यालय छन्, जसलाई प्रत्येक वर्ष भौतिक संरचना सुधार तथा शैक्षिक उन्नयनका लागि लाखौं रुपैयाँ अनुदान प्रदान गरिँदै आएको छ। तर, राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजाले ती विद्यालयको शैक्षिक उपलब्धिमा गम्भीर प्रश्न उठाएको छ।

सबैभन्दा कमजोर प्रदर्शन परशुराम नगरपालिकास्थित भुवनेश्वरी नमुना माविले गरेको छ। त्यहाँ ८५ जना परीक्षार्थीमध्ये जम्मा ६ जना मात्र उत्तीर्ण भएका छन्। विद्यालयका प्रधानाध्यापक डम्बर थ्वालले विदामा रहेकाले प्रतिक्रिया दिनका लागि विद्यालयमै गएर तथ्यांक हेरेपछि मात्र बोल्ने बताएका छन्।

त्यस्तै, भागेश्वर गाउँपालिकाको सरस्वती नमुना मावि(साधारण धार)मा ७ जनाले परीक्षा दिएका थिए, तर सबै अनुत्तीर्ण भए। विद्यालयका प्रधानाध्यापक बिरभान शाही एक महिनाअघि मात्र विद्यालयमा आएका हुन्। उनले आफू आउनु अगाडिको शैक्षिक अवस्था अत्यन्त कमजोर रहेको बताए। "विद्यालयमा शैक्षिक वातावरण नै नमिलेको देखिन्छ, यसबारे छलफल आवश्यक छ," उनले भने।

अजयमेरु गाउँपालिकाको बालकल्याण नमुना मावि(साधारण धार)को अवस्था झनै निराशाजनक छ। जम्मा ३ जना परीक्षार्थी थिए, तर तीनै जना फेल भए।

त्यस्तै, अमरगढी नगरपालिकाको उग्रतारा नमुना माविमा ३७ जनाले परीक्षा दिए पनि ७ जना मात्र उत्तीर्ण भएका छन्। विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले विद्यालयले आफ्नो तर्फबाट सबै तयारी गरेको दाबी गरे। ‘हामीले अतिरिक्त कक्षा, कोचिङ कक्षा लगायत सबै माध्यम अपनायौं,’ उनले भने, ‘तर हिउँदे विदामा विद्यार्थीहरू घरमा पढाइमा ध्यान नदिई मोबाइल चलाउने र खेल्नेतिर लागे। परीक्षा केन्द्र नजिक डेरामा बसेका विद्यार्थीहरू समेत पढाइभन्दा टाढा देखिए।’

उनले कमजोर नतिजाको जिम्मेवारी अभिभावकले पनि लिनुपर्नेमा जोड दिए। ‘विद्यालयको ६ घण्टाको कक्षा मात्रै पर्याप्त हुँदैन। त्यसबाहेकको समयमा विद्यार्थी के गर्दै छन् भन्नेमा अभिभावक सजक हुनुपर्छ,’ उनले भने।

के हो नमुना विद्यालय ?
२०७४ मा जारी ‘नमुना विद्यालय सञ्चालन तथा व्यवस्थापन निर्देशिका’ अनुसार नमुना विद्यालय केवल शैक्षिक संस्था होइन, गुणस्तरीय सिकाइ, सूचना प्रविधिको प्रयोग, आधुनिक पूर्वाधार, विद्यार्थी–अभिभावक–समुदायको सक्रिय सहभागिता र चौतर्फी विकास सुनिश्चित गर्ने संरचना हो।

यस्ता विद्यालयमा न्यूनतम शिक्षक योग्यता (स्नातक वा सो भन्दा माथि), १ः२५ को शिक्षक–विद्यार्थी अनुपात, उपचारात्मक शिक्षण, भर्चुअल कक्षा, आइसीटी प्रयोगशाला, इन्टरनेट, वैकल्पिक ऊर्जा, छात्रावास, पुस्तकालय, अडिटोरियम, बालमैत्री संरचना र स्वास्थ्य सेवा जस्ता पूर्वाधार अनिवार्य मानिन्छ।

तर, डडेल्धुराका यी विद्यालयहरूमा भौतिक संरचना विकास भए पनि शैक्षिक नतिजाले भने सरकारको उद्देश्य र लगानीलाई चुनौति दिएको छ।

विद्यालयतर्फबाट प्रयास गरिए पनि विद्यार्थी र अभिभावकको लापरवाही, वातावरणीय चुनौती, र सिकाइको वास्तविक प्रभावकारितामा कमी रहेका कारण नमुना विद्यालयको उद्देश्यप्रति प्रश्न उठिरहेको छ।

नमुना विद्यालयका नाममा करोडौं खर्च भइरहेका छन् तर नतिजाले त्यो खर्चको औचित्य पुष्टि गर्न सकेको छैन। 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update