Paschim Express
दार्चुलामा कृषि अनुदान हत्याउन  जिउँदै मान्छेलाई मृत घोषणा गर्ने प्रयास

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा कृषि अनुदान प्राप्त गर्ने उद्देश्यले सचिव र कोषाध्यक्षको ‘मृत्यु भइसकेको’ भन्ने झुटो सूचना दिएर बैंक खाता नवीकरण गराउने प्रयास भएको खुलासा भएको छ।

शैल्यशिखर नगरपालिका–६ स्थित मालिकार्जुन अगुवा कृषक समूहका अध्यक्ष जनक सिंह धामीले समूहका सचिव मञ्जु धामी र कोषाध्यक्ष जानकी धामीको मृत्यु भइसकेको उल्लेख गर्दै नगरपालिकाको कृषि शाखामा पत्र बुझाएका थिए। उक्त पत्रका आधारमा कृषि शाखाका प्राविधिक दीपकराज विष्टले ग्लोबल आइएमई बैंक, गोकुलेश्वर शाखालाई खाता नवीकरणका लागि सिफारिस पत्र पठाएका थिए।

बैंकलाई पठाइएको पत्रमा भनिएको छ, “श्री मालिकार्जुन अगुवा कृषक समूहको खाता नवीकरण गर्नुका साथै साविकका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीको मृत्यु भएकाले अब नयाँ अध्यक्ष जनक सिंह धामी र सचिव बसन्ती बोहराको हस्ताक्षरबाट खाता सञ्चालन हुने गरी नवीकरण गरिदिन अनुरोध छ।”

तर, वास्तविकतामा सचिव र कोषाध्यक्ष दुवै जीवित रहेको र उनीहरूले समूहसँग असहयोग गरेको आरोपमा अध्यक्ष जनक सिंह धामीले झुटो मृत्युको सूचना दिएको खुलेको छ। जनक सिंह धामी  नगर प्रमुख विजय सिंह धामीका छोरा हुन्। उनी हाल शैल्यशिखर नगरपालिकाको भेटेनरी शाखामा नाप्रासका रूपमा कार्यरत छन्।

वडाध्यक्षको आपत्ति, कारबाहीको माग
शैल्यशिखर नगरपालिका–६ का वडाध्यक्ष जगदीश सिंह धामीले कोषाध्यक्ष र सचिव जीवित रहेको प्रस्ट पार्दै यस्तो झुटो सूचना दिएर खाता नवीकरण गर्न सिफारिस गरिनु आपत्तिजनक भएको बताए। उनले भने, “यस्ता क्रियाकलाप कारबाहीको दायरामा ल्याइनुपर्छ।”

सरकारले शैल्यशिखर–६ लाई ओखर पकेट क्षेत्र घोषणा गरेको छ। चालु आर्थिक वर्षमा उक्त क्षेत्रका लागि १२ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। मालिकार्जुनसहित चार समूहले २ लाख ४० हजारका दरले अनुदान पाउने व्यवस्था थियो। अन्य तीन समूहले काम सम्पन्न गरी भुक्तानी लिइसकेका छन् भने मालिकार्जुन समूहले भने काम नगरी भुक्तानीको प्रयास गरेको देखिएको छ।

‘आवेशमा पत्र लेखें’ : जनक सिंह धामी
विवादपछि प्रतिक्रिया दिँदै अध्यक्ष जनक सिंह धामीले सचिव र कोषाध्यक्षले विरुवा वितरणमा सहयोग नगरेको भन्दै रिसको आवेशमा मृत्यु भएको झुटो विवरणसहितको पत्र नगरपालिकामा बुझाएको स्वीकार गरे। उनले भने, “मैले नै पत्र लेखें, सिफारिस पत्रको व्यहोरा पनि मैले नै तयार गरेँ। अरुको दोष छैन।”

नगरपालिकाले भने यस्तो झुटो विवरणका आधारमा रकम भुक्तानी नगरेको जनाएको छ।

 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update