Paschim Express
बसको ठक्करबाट महिलाको मृत्यु, कञ्चनपुरमा स्थानीयको आन्दोलनले सडक अवरुद्ध

कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीयवासी आन्दोलित बनेका छन्।

बिहीबार सुदूरपश्चिम प्रदेश ००१–९२९ नम्बरको बसले वनसाह निवासी ५५ वर्षीया द्रोपती भट्टलाई ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको थियो।

मृतक भट्टको परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयले शुक्लाफाँटा नगरपालिका अन्तर्गत कलुवार बजार क्षेत्रको महेन्द्र राजमार्ग अवरुद्ध पारेका छन्।

सडक अवरुद्ध भएपछि यात्रुहरू गन्तव्यमा पुग्न सकेका छैनन् भने मालवाहक गाडीहरू बाटोमै रोकिएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, बस र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान थालिएको छ। मृतकको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ।

सडक खुलाउने प्रहरीको प्रयास जारी भए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन। स्थानीयहरूले क्षतिपूर्ति नपाएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update