Paschim Express
पक्की घर थियो, तर छाउगोठमै बसिन् कमला

कञ्चनपुर । महिनावारी भएको समयमा छाउगोठमा बसिरहेकी एक महिलाको सर्पको डसाइबाट मृत्यु भएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकाले तत्काल छाउगोठ भत्काउन निर्देशन दिएको छ।

कृष्णपुर नगरपालिका–१, निगालीकी २८ वर्षीया कमला आउजी दमाईको शुक्रबार राति सर्पले डसेपछि निधन भएको हो। उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो। तर शनिबार साँझ उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहराले जानकारी दिए।

डिएसपी बोहराले भने, “राति खाना खाएर छाउगोठमै सुतेकी बेला सर्पले डसेको रहेछ।” श्रीमती कमलाका श्रीमान भारतको सुरतमा काम गर्छन्, भने उनका सासू-ससुरा पनि हालै रोपाइँ सकेर भारत गएका थिए। घरमा साना छोराहरू मात्र थिए, जो पक्की घरमै सुतेका थिए। कमला भने पक्की घरभन्दा २०–३० मिटर टाढा रहेको छाउगोठमा सुत्न गएकी थिइन्।

कृष्णपुर नगरपालिका–१ का वडाध्यक्ष मोहन बस्नेतले यसअघि पनि उक्त क्षेत्रमा छाउगोठ भत्काउने अभियान सञ्चालन गरिएको बताए। “गत वर्ष मात्र करिब ६० वटा छाउगोठ भत्काएका थियौं,” उनले भने, “तर जति भत्काए पनि फेरि बनाइहाल्छन्, बुझाउँदा पनि मान्दैनन्।”

यस घटनापछि कृष्णपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालयले २०८२ असार २९ गते सबै वडाहरूमा सूचना जारी गर्दै १५ दिनभित्र सबै छाउगोठ भत्काउन आदेश दिएको छ।

नगरपालिकाले छाउपडी प्रथा अन्त्य गर्न वडाहरूलाई आआफ्नो क्षेत्रमा रहेका छाउगोठहरूको अनुगमन गरी तत्काल भत्काउन भनेको छ। यस कार्यान्वयन नगरे प्रत्येक गोठको हकमा रू. १० हजार जरिवाना र कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।

 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update