Paschim Express
झलारीमा युवकको मृत्युपछि सडक आन्दोलन, महेन्द्र राजमार्ग अवरुद्ध

कञ्चनपुर । कञ्चनपुरको झलारीका ३८ वर्षीय ललित जोशीको सवारी दुर्घटनामा मृत्यु भएपछि प्रहरी प्रशासनमाथि घटनालाई ढाकछोप गर्ने प्रयास गरिएको आरोप लागिरहेको छ। पीडित पक्षले निष्पक्ष छानबिनको माग गर्दै पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत झलारी क्षेत्रमा आइतबार सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन्।

घटना गत शुक्रबार कञ्चनपुरको बेदकोट नगरपालिका–१०, दैजी चम्पापुरमा भएको हो। महेन्द्रनगरबाट झलारी जाँदै गरेका जोशीको सवारी लु.प. ०२–००१ प २८५१ र झलारीबाट महेन्द्रनगरतर्फ आइरहेका प्रहरी जवान सिद्धराज जोशी र अमित भट्ट सवार बा ६६ प ८७८७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएपछि गम्भीर घाइते भएका ललित जोशीको घटनास्थलमै ज्यान गएको हो।

शुरुमा प्रहरीले जोशी आफैं अनियन्त्रित भई दुर्घटनामा परेको दाबी गर्दै घटनालाई सामान्य रूपमा प्रस्तुत गर्न खोजेको भन्दै मृतकका परिवार आक्रोशित बनेका छन्। एक प्रत्यक्षदर्शी महिलाले पनि दुई मोटरसाइकल एकआपसमा ठोक्किएको बताइसकेकी छन्।

प्रहरीकै मिलेमतोमा घटना लुकाउन खोजिएको भन्दै स्थानीयले डिआईजी डम्बर बहादुर विक चढेको बा एए ७५०२ नम्बरको जिपसमेत झलारीमा रोकेर आक्रोश पोखेका थिए। उनीहरूले विकसमक्ष सोधेका थिए, “तपाईंको कार्यालयका प्रहरीले चोरिएको मोटरसाइकल चढ्ने, सर्वसाधारणलाई ठक्कर दिने अनि भाग्ने ? यो कस्तो न्याय हो ?”

स्थानीय  दीपक धामीले प्रहरीको गम्भीर लापरबाही र गैरजिम्मेवार व्यवहारकै कारण दुर्घटना भएको आरोप लगाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। साथै, प्रहरी नै भागेर घटना छोप्न खटिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

यात्रुहरू चक्का जामका कारण अलपत्र परिरहेका छन् भने कञ्चनपुर प्रहरीले ढाकछोपको आरोप अस्वीकार गर्दै घटनाको निष्पक्ष छानबिन भइरहेको दाबी गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले भने, “हामीले दुर्घटनाबारे अनुसन्धान अघि बढाइसकेका छौं। दोषी जो कोही भए पनि कारबाही हुन्छ।”

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update