Paschim Express
कैलालीमा शिक्षक मृत्यु प्रकरण : घटनास्थलमा भेटिएको थियो ‘सल्फास’

कैलाली । कैलालीको टीकापुरमा एक शिक्षकको शंकास्पद मृत्यु भएपछि घटनास्थलबाट विषादी सल्फास भेटिएको छ। घटनामा संलग्न आशंकामा तीन जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–५ का ४५ वर्षीय शिक्षक जगदीश पन्तको शनिबार साँझ जानकी गाउँपालिका–४ स्थित जनता माध्यमिक विद्यालयबाट फर्किएपछि साथीहरूसँग टीकापुर नगरपालिका–१ को एक रेस्टुरेन्टमा मदिरा सेवन गर्ने क्रममा मृत्यु भएको हो।

पन्तको मृत्युपछि घटनास्थलमा सल्फास नामक विषादीको बट्टा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहले जानकारी दिए। विषादी सेवनबाटै मृत्यु भएको प्रारम्भिक आशंका गरिएको छ। पन्त बेहोस भएपछि साथीहरूले राति ११ बजेतिर टीकापुर अस्पताल पुर्‍याएका थिए, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

डिएसपी सिंहका अनुसार मृतकका परिवारले आइतबार बिहान तीनै जना साथीविरुद्ध किटानी जाहेरी दिएका छन्। जाहेरीमा ती तीन जनाले मिलेर विष खुवाएको उल्लेख गरिएको छ। जाहेरीपछि टीकापुर नगरपालिका–१ का ३२ वर्षीय वीरेन्द्र हमाल, ३६ वर्षीय लोकेन्द्र रावल र जानकी गाउँपालिका–९ अमरावतीका ३४ वर्षीय सुनिल रावललाई पक्राउ गरिएको हो।

घटनापछि अदालतबाट म्याद थप गरी उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

"घटनास्थलमा विषादीको बट्टा भेटिएको छ। मृतकले मुखबाट फिँज निकालेको देखिनु, शरीरमा झट्का देखिनु जस्ता लक्षणका आधारमा विष सेवन भएको जस्तो देखिन्छ," डिएसपी सिंहले भने, "तर, पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै निश्चित भन्न सकिनेछ।"

यस घटनाबारे अनुसन्धान तीव्र पारिएको र विष सेवन कसरी भयो भन्ने विषयमा बयान तथा फरेन्सिक रिपोर्टको आधारमा थप खुल्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, साउन ६, २०८२  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update