Paschim Express
दार्चुलामा जिउँदै मान्छेलाई मृत घोषणा गरेर कृषि अनुदान हत्याउन खोज्ने दुईजना पक्राउ

दार्चुला। कृषि अनुदान रकम हडप्नका लागि कृषक समूहका सचिव र कोषाध्यक्षको मृत्यु भएको नक्कली विवरण पेश गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेका छन्। धामी मालिकार्जुन कृषक समूहका अध्यक्ष तथा शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीका छोरा हुन्।

दार्चुलाका प्रहरी प्रमुख डिएसपी प्रकाश दाहालका अनुसार उनीहरूलाई बुधबार पक्राउ गरिएको हो। उनीहरूविरुद्ध लिखत सम्बन्धी कसुर, किर्ते र आपराधिक विश्वासघात शीर्षकमा किटानी जाहेरी दर्ता गरी सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।

दाहालका अनुसार आरोपितहरूले ‘ओखर पकेट क्षेत्र’ अन्तर्गत दुई लाख २० हजार रुपैयाँ अनुदान निकाल्नका लागि सचिव मञ्जु धामी र कोषाध्यक्ष जानकी धामीको मृत्यु भएको भन्दै बैंकमा फर्जी पत्र पेस गरेका थिए। उनीहरूले ग्लोबल आइएमई बैंकको गोकुलेश्वर शाखामा हस्ताक्षर परिवर्तनको माग गर्दै सो पत्र बुझाएका थिए।

प्रकाशित मिति: बिहीबार, साउन ९, २०८२  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update