सुदूरपश्चिम प्रदेश सरकारको एक वर्ष: ३५ बुँदे उपलब्धि सार्वजनिक [पूर्णपाठ]

कैलाली ।  सुदूरपश्चिम प्रदेश सरकार गठन भएको एक वर्ष पूरा भएको छ। नेकपा एमालेको समर्थनमा २०८१ साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका कमलबहादुर शाहले मंगलबार आफ्नो एक वर्षे कार्यकाल सम्पन्न गरेका हुन्।

सरकार गठनको एक वर्ष पुगेको अवसरमा सरकारले हालसम्मको कार्यप्रगति सार्वजनिक गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहले विगत एक वर्षमा सरकारद्वारा हासिल गरिएका प्रमुख ३५ बुँदे उपलब्धिहरू सार्वजनिक गरे।

मुख्यमन्त्री शाहले विभिन्न चुनौती र कठिनाइका बीच सरकारको खर्च गर्ने क्षमता वृद्धि गर्दै आर्थिक वर्ष २०८१/८२ मा ७०.२२ प्रतिशत वित्तीय प्रगति हासिल गर्नु सबैभन्दा ठूलो उपलब्धि भएको बताए। उनले भने, "यो प्रदेश सरकार गठनपछि अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट वित्तीय प्रदर्शन हो।"

त्यसैगरी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिमले ५१.६ प्रतिशत अंक प्राप्त गर्दै सबै प्रदेशमध्ये पहिलो स्थान हासिल गरेको उपलब्धिलाई पनि सरकारको गौरवपूर्ण सफलताका रूपमा प्रस्तुत गरिएको छ। प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिनु तथा एसियाली विकास बैंकले लगानी सम्मेलनमा लागत साझेदारी गर्न प्रतिबद्धता जनाउनु जस्ता उपलब्धिहरूलाई समेत महत्वपूर्ण मानिएको छ।

पूर्वाधार र विकासका ठूला कामहरू
प्रदेश सरकारले एक वर्षमा ३५५ किलोमिटर सडक निर्माण सम्पन्न गरेको जनाएको छ। त्यसमा १०६ किलोमिटर सडक कालोपत्रे, १०३ किलोमिटर ग्राभेल, र १४६ किलोमिटर कच्ची सडक समावेश छन्।

सिंचाइ क्षेत्रमा सतही, भूमिगत र नयाँ प्रविधिमा आधारित योजनाहरूबाट १,६२८ हेक्टर जमिनमा नयाँ सिंचाइ सुविधा विस्तार गरिएको छ भने मर्मतबाट १३,९४७ हेक्टर क्षेत्रमा सिंचाइ सुविधा पुनःस्थापना गरिएको छ।

बाढीबाट बस्ती र खेत जोगाउन २७ किलोमिटर तटबन्ध, ८४१ इन्टेक, ५१६ पोखरी, र २,१३३ किलोमिटर पाइपलाइन जडान गर्दै ११,९३९ घरमा धारा पुर्‍याइएको छ। यसबाट एक लाख ३ हजार ५२४ जनसंख्या खानेपानी सुविधाबाट लाभान्वित भएको सरकारको दाबी छ।

स्वास्थ्य, कृषि, उद्योग र वातावरणतर्फ पनि महत्वपूर्ण काम
अछामको बयलपाटा, कैलालीको लम्कीचुहा, र डडेल्धुराको जोगबुढा अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्न प्रक्रिया अघि बढाइएको छ।

कृषि अनुदानमार्फत १५१ किसानलाई ९७ लाख ४१ हजार रुपैयाँ उपलब्ध गराइएको छ। सोही कार्यक्रमअन्तर्गत २३ करोड ४७ लाख रुपैयाँभन्दा बढी थप निजी लगानी भित्रिएको उल्लेख छ। कृषि मन्त्रालयको १,५४७ साना सिंचाइ योजनाबाट ३७८ हेक्टर जमिनमा सिंचाइ सुविधा विस्तार भएको छ।

पशुपालनतर्फ १६ लाख २९ हजार २२८ गाई, भैंसी, बाख्रामा कृत्रिम गर्भाधान गरिएको, १ लाख ३२ हजार पशुमा उपचार सेवा, र २ लाख ६७ हजार पशुलाई खोप सेवा प्रदान गरिएको छ।

उद्योग क्षेत्रमा २८ उद्योगको प्रारम्भिक वातावरणीय मूल्यांकन स्वीकृत, १४ लाख ४७ हजार विरुवा उत्पादन, र १२२ हेक्टरमा वृक्षारोपण गरिएको जानकारी सार्वजनिक गरिएको छ।

मानव सेवा, संस्कृति र पर्यटनतर्फको काम
निःशुल्क रक्तसेवा कार्यक्रमअन्तर्गत १,१८७ जनालाई २,१४८ पिन्ट रगत उपलब्ध गराइएको छ। आर्थिक रूपमा कमजोर ६४५ जनालाई उपचार सहायता प्रदान गरिएको छ।

प्रदेशभर ३१ स्थानमा धार्मिक मठमन्दिर, र ९ वटा पर्यटकीय पार्क निर्माण गरिएका छन्, जसलाई सरकारले सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनको दिशामा महत्वपूर्ण पाइला मानेको छ।

supa-1754377876.png

upalabdi_page-0001-1754378583.jpg

upalabdi_page-0002-1754378583.jpg

upalabdi_page-0003-1754378585.jpg

upalabdi_page-0004-1754378586.jpg

upalabdi_page-0005-1754378595.jpg

upalabdi_page-0006-1754378595.jpg

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update