
कैलाली - कैलाली कारागारमा शुक्रबार भएको हिंसात्मक झडपपछि एक कैदीको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्। घटना भएको ३६ घण्टा बितिसक्दा पनि स्थानीय प्रशासनले कारागारभित्र स्थिति नियन्त्रण गर्न सकेको छैन। कैदीहरूले कारागारभित्र ताला लगाएर पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएका छन् र सुरक्षाकर्मीलाई प्रवेश गर्न दिइएको छैन।
मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयका अनुसार कैदीहरूले कैलाली प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह रानाबाहेक अन्य उच्च तहका प्रतिनिधिलाई मात्र भेट दिने बताएका छन्। उनीहरू गृह मन्त्रालय र कारागार व्यवस्था विभागका प्रतिनिधिसँग मात्र वार्ता गरेर आफ्ना माग राख्ने बताएको छ।
प्रमुख जिल्ला अधिकारी हमालले भने, “अहिलेसम्म सुरक्षाकर्मी कारागारभित्र प्रवेश गर्न पाएका छैनन्, हामी दिउँसो निरीक्षणमा जाने तयारी गरिरहेका छौँ।” उनले कैदीका आफन्तहरूले भेटघाट गरिरहेको जानकारी पनि प्राप्त भएको बताए।
घटनापूर्व १४ साउनमा कैदीहरूले मानव अधिकार आयोगलाई पठाएको ध्यानाकर्षण पत्रमा आफूहरू असुरक्षित रहेको र कारागारको सुरक्षा व्यवस्थामा कमजोरी भएको उल्लेख गरिएको थियो। आयोगले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कारागार विभागलाई उचित सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइसकेको थियो।
तर सुरक्षा व्यवस्था फितलो भएकै कारण शुक्रबार ब्लक ए मा रहेका कैदीहरूको समूहले ब्लक बी का कैदीहरूमाथि भित्ता फुटाउँदै आक्रमण गरेको थियो। यस आक्रमणमा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको छ भने ४९ घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि काठमाडौं र सेती प्रादेशिक अस्पतालको आईसीयूमा राखिएको छ।
हाल १५० क्षमताको कैलाली कारागारमा करिब सात सय कैदी रहेका छन्।
कारागार घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरू छन्।