
कैलाली । कैलालीको धनगढीस्थित जिल्ला कारागारमा शुक्रबार मध्यराति कैदीबन्दीका दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न तनाव अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। उक्त झडपमा ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना कैदी घाइते भएका छन्।
शनिबारदेखि कैदीबन्दीहरूले भित्रबाट ताला लगाएर थुनुवा कक्ष आफ्नो नियन्त्रणमा लिएकाले सुरक्षाकर्मी भित्र प्रवेश गर्न सकेका थिएनन्। तर आइतबार अपरान्ह नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली, मानव अधिकार आयोग प्रदेश कार्यालय धनगढीको रोहवरमा हतियारसहित कारागारभित्र प्रवेश गरी ब्लक ए र ब्लक बीमा खोजतलास थालेको छ। यस क्रममा कैदीबन्दीको वास्तविक संख्या गणना गर्ने काम पनि भइरहेको छ।
घटनापछि आजबाट कारागार प्रशासनले आफन्तलाई कैदीसँग भेटघाट गर्न अनुमति दिएको छ। आफ्ना मान्छेको अवस्था बुझ्न आफन्तको भीड लागेको छ।
आफन्तहरूले कैदीको सरुवापछि भित्र अशान्ति फैलिएको आरोप लगाएका छन्। गोदावरीका सिद्धराज भट्टका अनुसार कैदी नाइके अशोक रावलको दाङ सरुवापछि समूहबीच मनमुटाव बढ्दै हिंसात्मक घटनासम्म पुगेको हो।