Paschim Express
दार्चुलामा अटो नदीमा खस्दा एकको मृत्यु, दुई जना बेपत्ता

दार्चुला । दार्चुलामा अटो दुर्घटनामा परी एक बालिकाको मृत्यु भएको छ भने दुई महिला बेपत्ता र एक जना घाइते भएका छन्।

सोमबार दिउँसो करिब १ बजे नौगाड गाउँपालिका–५ सौकेबगर भिरको सडकबाट म–१ ह–११४८ नम्बरको अटो नौगाड खोलामा खस्दा करिब १२/१३ वर्षीया एक बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए। मृतक बालिकाको सनाखत हुन बाँकी छ।

उक्त अटोमा सवार दुई जना महिला खोलामा बेपत्ता भएका छन्। त्यस्तै चालक मनीराम भुलका १७ वर्षीय छोरा आयुष भुल घाइते भएका छन्। उनलाई घटनास्थलबाट उद्धार गरी गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। चालक मनीराम भुल भने प्रहरी नियन्त्रणमा छन्।

प्रहरीका अनुसार नौगाड गाउँपालिकाको केन्द्र होपरीगाडबाट धुलिगडातर्फ आउँदै गरेको अटो करिब ५० मिटर तल खोलामा खसेको हो। घटनास्थलमा धुलिगडा र होपरीगाड प्रहरी चौकीबाट टोली पुगेर उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update