
काठमाडौँ । सरकारको खर्च कटौती अभियानअन्तर्गत कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा विनियोजित ४८ करोड रुपैयाँ बजेट रोक्का गरिएको छ।
अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ‘डडेल्धुरा लिंक रोड कार्यक्रम’ अन्तर्गतका सबै सडक आयोजनाको बजेट रोक्का गरेको हो। यो निर्णय असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले खर्च कटौती गर्न ३ करोड रुपैयाँभन्दा कमका टुक्रे आयोजना रोक्का गर्ने निर्णय गरेपछि आएको हो।
मन्त्रालयका अनुसार डडेल्धुरामा विनियोजित बजेटबाट विभिन्न सडक निर्माण तथा मर्मत आयोजना प्रभावित भएका छन्। ती आयोजना यसप्रकार छन्:
-डडेल्धुरा बागबजार–पोखरा सडक स्तरोन्नतिका लागि छुट्याइएको २० करोड रुपैयाँ
-भात्काँडा-रेल सडकका लागि ४ करोड
-सल्लाघारी–उग्रतारा–आइत हुँदै बागबजार सडकका लागि ३ करोड
-बगरकोट–सिराड–रूपाल सडकका लागि ३ करोड
-उग्रतारा–मेलौली सडकका लागि ४ करोड
-पोखरा–बेलापुर सडकका लागि ३ करोड
यी सबै आयोजनाको बजेट हाल अर्थ मन्त्रालयले रोक्का गरेको छ।
अर्थ मन्त्रालयका एक सहसचिवका अनुसार, डडेल्धुरा र झापा जिल्लाका लिंक सडक कार्यक्रमहरू कटौतीको सूचीमा परेका छन्। अन्य जिल्लाका ठूला कार्यक्रमहरूमा भने आंशिक रकम मात्रै रोक्का गरिएको छ।
सरकारको यो कदमले डडेल्धुरामा चलिरहेका सडक निर्माण र मर्मत कार्य प्रभावित हुने देखिएको छ। स्थानीय निकायहरूले यस निर्णयले भौतिक विकासका ठूला आयोजनामा ढिलाइ हुने चिन्ता व्यक्त गरेका छन्।
अर्थ मन्त्रालयले पूँजीगत खर्च घटाउने लक्ष्यसहित सबै मन्त्रालयका टुक्रे आयोजना रोक्का गरेर करिब १ खर्ब २० अर्ब रुपैयाँ बचत गर्ने नीति अघि सारेको छ।