Paschim Express
परशुरामकी हाकिमको नाम मुछ्दै लेखा अधिकृतले लगाए यस्तो आरोप, सिडियो कार्यालय पुग्यो निवेदन

डडेल्धुरा । जिल्लाकाे परशुराम नगरपालिकाका  लेखा अधिकृत धन बहादुर साउदले प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टको कार्यसम्पादन मूल्यांकनमा पूर्वाग्रहपूर्ण व्यवहार भएको आरोप लगाउँदै जिल्ला प्रशासन(सिडियो) कार्यालयमा निवेदन पेश गरेका छन्।

लेखा अधिकृत साउदले विगत ६ वर्षदेखि आफूले जिम्मेवारी निष्ठा, इमानदारी र अनुशासनपूर्वक निर्वाह गर्दै आएको उल्लेख गर्दै, आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यसम्पादन मूल्यांकनमा दिइएको अंक अन्यायपूर्ण रहेको बताएका छन्। उनका अनुसार, कार्यालयका सबै आर्थिक क्रियाकलाप पारदर्शी रूपमा सञ्चालन गरेको भए पनि मूल्यांकन गर्दा वास्तविक उपलब्धिहरूलाई ध्यानमा राखिएकाे छैन।

साउदले  आर्थिक वर्षभरि लेखा शाखामा देखिएका अनियमितता सच्याउने, वार्षिक लेखा प्रतिवेदन समयमै तयार पार्ने, आन्तरिक लेखापरीक्षणका सुझावहरू पालना गर्ने र भुक्तानी प्रक्रिया निर्धारित समयमै सम्पन्न गर्ने कार्यहरू गरेकाे दाबी गरेका छन्। तर, मूल्यांकनमा यी उपलब्धिहरू समावेश नभई केही प्रसङ्गलाई तोडमोड गरी कार्यदक्षता घटाएर देखाइएको आरोप लगाएका छन्।

उनले सिडियो समक्ष निवेदन पेश गर्दै आफ्नो कार्यसम्पादन मूल्यांकन निष्पक्ष समितिमार्फत पुनरावलोकन गराइदिन, पूर्वाग्रही मूल्यांकन गर्ने प्रमुख प्रशासकीय अधिकृतको कारण सोधपुछ गरी आवश्यक कारबाही वा निर्देशन दिन र भविष्यमा यस्ता मूल्यांकन नहुने व्यवस्था मिलाउन अनुरोध गरेका छन्।


 

प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update