Paschim Express
बैतडी कारागारका कैदीबन्दीलाई स्थानान्तरण गरिँदै

बैतडी — बैतडी कारागारमा रहेका कैदीबन्दी तथा थुनुवालाई स्थानान्तरण गरिने भएको छ । कारागार कार्यालयको नयाँ भवन निर्माण हुने भएकाले कैदीबन्दी तथा थुनुवालाई स्थानान्तरण गर्न लागिएको कारागार कार्यालय बैतडीकी प्रमुख धारा भण्डारीले बताइन् ।

‘थुनुवालाई डडेल्धुरा कारागारमा स्थानान्तरण गरिनेछ,’ उनले भनिन्, ‘कैदीबन्दीहरूलाई दार्चुला, डडेल्धुरा र कञ्चनपुर कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ ।’ सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, राजपुर, डोटीले भवन निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता गरिसकेकाले मंसिर पहिलो साताभित्र कैदीबन्दी र थुनुवालाई स्थानान्तरण गरिने उनले सुनाइन् ।

२०४० सालमा निर्माण गरिएको बैतडी कारागार जीर्ण भइसकेको छ । जीर्ण कारागार भवनमा क्षमताभन्दा बढी कैदीबन्दी तथा थुनुवा राख्नुपर्ने बाध्यता थियो । १५ जना पुरुष र १० जना महिला गरी २५ जना राख्न सकिने क्षमता रहेको कारागारमा अहिले ६० जना कैदी र थुनुवा रहेका छन् । महिला कैदीलाई राख्न ठाउँ नहुँदा अन्तै पठाउनु पर्ने बाध्यता छ ।

कारागार कार्यालय बैतडीको नयाँ भवन निर्माणका लागि केकेजे कालिका एसबी जेभी सुकेधारासँग ७ करोड ९७ लाख ७१ हजार ४ सय १९ रुपैयाँमा सम्झौता भइसकेको सघन सहरी तथा भवन निर्माण आयोजना डोटीका सव–इन्जिनियर भोजराज विष्टले बताए । ‘गत असोज २९ गते निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ,’ उनले भने, ‘२०८४ असार १५ गतेभित्र कारागार भवन निर्माण सम्पन्न गरिसक्नुपर्ने छ ।’ ८५ जना अटाउने पुरुष कैदीबन्दी कारागार भवन निर्माण गरिने उनले बताए । उक्त भवन निर्माणका लागि ९ करोड ९९ लाख ४७ हजार ६ सय २७ रुपैयाँ लागत अनुमान गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, राजपुर, डोटीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०८२  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update