Paschim Express
सुदूरपश्चिमबाट हट्ने भयो ‘डलर फेयर’

धनगढी । आन्तरिक उडानमा विदेशी नागरिक तथा गैरआवासीय नेपालीबाट लिइँदै आएको ‘डलर फेयर’ (उच्च हवाई भाडादर) सुदूरपश्चिम क्षेत्रबाट हटाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ले विभेदपूर्ण दुई खाले भाडा प्रणाली अन्त्य गर्दै क्रमशः देशभर लागू गर्ने तयारी भइरहेको बताएका छन् । 

हाल विदेशी पर्यटकले आन्तरिक उडानमा नेपाली यात्रुको तुलनामा दोब्बरदेखि तेब्बरसम्म महँगो भाडा तिर्नुपर्छ । यसले विशेषगरी गैरआवासीय नेपालीलाई आफ्नै देशमा महँगो यात्रा गर्न बाध्य बनाएको छ ।

वायुसेवा सञ्चालकहरूसँग छलफल सुरु भइसकेको तथा सुदूरपश्चिम र कर्णाली क्षेत्रमा उडान गर्ने कम्पनीहरूलाई पहिलो चरणमा ‘डलर फेयर’ हटाउन आग्रह गरिएको बताइएको छ ।

यसअघि वायुसेवा कम्पनीहरूले विदेशीबाट उठाएको अतिरिक्त रकम दुर्गम क्षेत्रको विकासमा प्रयोग गर्ने उद्देश्यले स्थापना गरिएको ‘दुर्गम विकास कोष’मा योगदान गर्नुपर्ने व्यवस्था भए पनि २०५८ सालयता उक्त रकम नियमित रूपमा जम्मा छैन ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update