Paschim Express
गौरीफन्टा नाकाबाट १०० रुपैयाँ बढीको सामान ल्याउन नदिइएको हो ?

धनगढी । भन्सार महसुल ऐन, २०८१ मा स्थलगमार्ग भएर भारताबाट सय रुपैयाँ बढीको सामान आयात गर्दा कर तिर्नुपर्ने प्रावधान छ । सोही अधिकार प्रयोग गरेर विगतमा पनि एक सय रुपैयाँ बढीको सामात भारतबाट आयात गर्दा कर लिने नियम लागू गरिएको थियो । तर, व्यवहारमा कार्यान्वयन भएन  । जसका कारण भारतीय सीमावर्ती बजारमा किनमेल गर्नेको घुइँचो हुनथ्यो । तर, अहिले आएर उक्त नियम कार्यान्वयनमा कडाइ गरिएको छ । 

कैलालीमा रहेको त्रिनगर–गौरीफन्टा नाकामा पनि उक्त निमय कार्यान्वयनका लागि सशस्त्र प्रहरीले कडाइ गरेको छ । ‘एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान भारतबाट स्थलमार्ग हुँदै नेपाल ल्याउने यात्रुले अनिवार्य रुपमा घोषणा गरी जाँच पास गराई राजस्व बुझाउनु पर्दछ,’ नाकामा सशस्त्रले बजाउँदै आएको सूचनामा भनिएको छ,‘अन्यथा चोरी पैठारी कसुरमा मालबस्तु जफत गरी कारबाही गरिने छ ।’ 

नाकामा सशस्त्र प्रहरीले सय रुपैयाँ बढीको सामान आयात गर्दा भन्सार महसुल बुझाउन आग्रह गर्दै आएको छ । कर नबुझाई सामान आयात गरेको भेटिएमा बरामद गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ । सय रुपैयाँ सीमाको निमय कार्यान्वयन भएपछि वैशाखका छ दिनमा मात्रै सीमा सुरक्षा गुल्म त्रिनगरले १२ लाख बराबरको सामान बरामद गरेको छ । 

तर, भारतमा किनमेल गरेर फर्किने कतिपय नेपालीले भने भन्सार कार्यालय नपुग्दै सामान बरामद हुने गरेको गुनासो पनि गरेका छन् । ‘सय रुपैयाँ बढीको सामान कर नतिरेर ल्याउन नमिल्ने निमय हो,’ नाकामा भेटिएका एक नेपालीले भने, ‘कर तिरेर त ल्याउन पाइन्छ होला । तर, कतिपय समयमा भन्सार कार्यालय नपुग्दै सामान बरामद हुन्छ ।’
गौरीफन्टा नाकामा सशस्त्र प्रहरीको एउटा चेकपोस्ट नेपाली सीमा आरम्भस्थल अर्थात् मोहना नदी पारी पनि छ । तर, भन्सार कार्यालय भने मोहना नदी वारि छ । जसका कारण भन्सार छलीको सामान बरामदका लागि भन्सार कार्यालयबाहिर धनगढीतर्फ सशस्त्र प्रहरीको अर्को पोस्ट पनि राखिएको छ । तर, नाकाकै चेक पोस्टले पनि सामान बरामद गरिरहेको कतिपयले गुनासो गरेका छन् । 

सय रुपैयाँ बढीको सामानमा कर लाग्ने निमयले भारतीय सीमावर्ती बजार भने सुनसान भएका छन् । यद्यपी विगतदेखि नै सीमावर्ती बजारबाट क्यारिङ गरेर नेपाली व्यवसायीलाई सामान बिक्री गर्दै आएकाहरु भने अहिले पनि भन्सार छलेर सामान भित्र्याइरहेका छन् । उनीहरुको सुरक्षा निकायसंग मिलेमतोको पनि आशंका गरिएको छ । 

सुनसान बनगाउँ बजार

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसी खुला सीमानाका कारण केही समस्या भए पनि सय रुपैयाँको सीमा कार्यान्वयनमा कडाइ गरिएको बताउँछन् । ‘१५ वटा बिओपी र चार वटा सीमा सुरक्षा गुल्ममार्फ निगरानी बढाइएको छ,’ उनले भने, ‘अहिले धेरैलाई जानकारी भइसकेका कारण सीमावर्ती बजारमा किनमेल गर्न जानेको संख्या पनि निकै घटेको छ ।’

नेपालीहरुले भारतीय बजारमा किनमेलका लागि जानुको मुख्य कारण कम मूल्यमा सामान पाउनु हो । तर, सय रुपैयाँको सीमाले घरायसी सामानमा पनि कर लाग्ने भएपछि सीमावर्ती क्षेत्रको जनजीवनमा प्रभाव परेको देखिन्छ । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझा यो निमयले गरिबीको रेखामुनि रहेका नागरिकको दैनिक प्रभावित नहुने गरी सरकारले काम गर्नुपर्ने बताउँछन् । ‘सीमामा गरिएको कडाइ ठिक छ,’ उनी भन्छन्, ‘तर, भारतबाट दैनिक रुपमा आयात हुने सामान स्वदेशमै उत्पादनतर्फ सरकारको ध्यान केन्द्रित हुन आवश्यक छ । यहाँ उत्पादन बढाउन सके भारतीय बजारकै मूल्यमा बिक्री गर्न पनि सकिन्छ ।’

प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update