
डडेल्धुरा । डडेल्धुराको अमरगढी किल्लामा रहेको बडाकाजी अमरसिंह थापाको पुरानो सालिक हटाएर नयाँ राखिने भएको छ । सो सालिकको अनुहार थापाको अनुहारसँग नमिल्ने भएकाले हटाएर नयाँ राखिने भएको हो । नेपाली सेना रणबम गणले पुरानो सालिक हटाएत नयाँ स्थापना गर्न लागेको अमरगढी किल्ला क्षेत्र विकास समितिका अध्यक्ष प्रवीण जैरूले जानकारी दिए ।
अमरगढी किल्लाकै नामबाट तत्कालीन पाँच वटा गाविसलाई गाभेर ०५३ सालमा अमरगढी नगरपालिका बनाइएको थियो । नगरपालिकाको स्थापनापछि अमरगढी किल्लाको प्रवेशद्वारमा अमरसिंह थापाको सालिक स्थापना गरिएको हो । तर, सालिकको अनुहार थापासँग नमिलेको भन्दै हाल परिर्वतन गरिन लागेको रणबम गणका गणपति उज्ज्वल थापाले बताए ।
रणबहादुर शाहको शासनकाल विसं १८४७ भदौ ३१ गते नेपाल एकीकरण सिलसिलामा डोटेली राज्यको नारिदाङमा युद्ध भएपछि विशाल डोटी राज्य नेपाल अधिराज्य राज्यमा गाभिएको इतिहास रहेको छ । नारिदाङमा कप्तान रणवीर खत्रीको नेतृत्वमा १० कम्पनीका सैनिक जवानले डोटेली राज्यसँग घमासान युद्ध गरेका थिए ।
युद्धमा गोर्खाली फौजसँग डोटेली फौज पराजित भइसकेपछि यस भूभागको सुशासनलाई सुदृढ र विस्तार गर्न बडाकाजी अमरसिंह थापा प्रथम प्रशासकका रूपमा अमरगढेर आएका थिए ।
ढुङ्गे किल्लाको निर्माण अमरसिंह थापा, काजी जगत पाण्डे, कप्तान गोलैया, कप्तान रणवीर खत्री, सुब्बा जोगनारायण मल्ल, सुब्बा फौदसिंह, सुग्विर खत्रीलगायतका सैनिक कमान्डरले १८ औँ शताब्दीमा गरेको बताइएको छ ।