Paschim Express
डडेल्धुराकाे परशुराममा साहित्य महोत्सव आयोजना हुने

डडेल्धुरा । डडेल्धुराको प्रसिद्ध धार्मिकस्थल परशुरामधाममा ‘परशुराम साहित्य महोत्सव २०८१’ आयोजना गरिने भएको छ ।  परशुराम नगरपालिका प्रमुख भरत बडायर जोशीले यही जेठ १० गतेदेखि दुईदिने साहित्य महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

उनले साहित्य, सङ्गीत, संस्कृति, भाषा र सभ्यताको संरक्षणका साथै हिन्दूहरूको पवित्र धार्मिकस्थल परशुरामधामको प्रचारप्रसारका लागि साहित्य महोत्सव आयोजना गर्न लागिएको बताए ।

“स्कन्द पुराण र लोकोक्तिका आधारमा परशुराम नगरपालिकासँग गौरवपूर्ण इतिहास छ । सीमापारि रहेको भारतको पूर्णागिरि धार्मिक पर्यटनका हिसाबले निकै प्रचारमा छ । त्यहाँ बर्सेनि ५० लाखभन्दा बढी धार्मिक पर्यटकले भ्रमण गर्ने गरेको सुन्नमा आउँछ तर त्योभन्दा बढी धार्मिक महत्वको परशुरामधाम प्रचार प्रसारको अभावमा ओझेलमा छ”, नगरप्रमुख जोशीले भने, “त्यसैकारण नगरपालिका भौतिक विकासका साथै यहाँको सांस्कृतिक मूल्य, सामाजिक सद्भाव र ऐतिहासिक धरोहरहरूको संरक्षण र साहित्य महोत्सवका माध्यमबाट यस क्षेत्रको प्रचारप्रसार गरी धार्मिक पर्यटनको विकास गर्न चाहन्छ ।”

महोत्सव अवधिमा वारीको परशुरामधाम र पारीको पूर्णागिरि, उद्यम र उद्यमशीलता, सुदूरमा शिक्षा र स्वास्थ्यका सकस, काव्यमा अन्तरपुस्ता संवाद, गाउँमै सिंहदरबारः कति नारा कति यथार्थ, आख्यानको वरिपरि र पहाडी रानी डडेल्धुराः सम्भावनाको खानी परशुराम गरी सातवटा सत्रमा विमर्श हुने आयोजकले जनाएको छ ।

ती सत्रमा राष्ट्रिय, प्रदेश र स्थानीय तहका कवि, साहित्यकार, सञ्चारकर्मी र संस्कृतिका विशिष्ट अध्येताहरूसहित भारतबाट धार्मिक व्यक्तिहरू विमर्शमा सहभागी हुनेछन् ।

कार्यक्रमका दौरान साहित्य, कला, संस्कृति युवा खेलकुद, नेपाल भारतसँगको निकटता र सम्बन्ध विषयमा सामूहिक छलफल गरिने समेत बताइएको छ । 

कार्यक्रममा विभिन्न विधामा कलम चलाउने सर्जकलाई सम्मान गरिने तयारी रहेको महोत्सव प्रचारप्रसार समिति संयोजक भवानी अवस्थी रोशनले बताएका छन् । गुगुल्टीका सम्पादक वीरबहादुर चन्द विश्राम (कञ्चनपुर), परशुराम पौराणिक आख्यानका लेखक किरण आचार्य (नेपालगन्ज), जनक रसिक दोरीका लेखक(कैलाली), कसन कविता संग्रहका लेखक गणेशबहादुर नेपाली (कैलाली), गजलकार निर्माला बोगटी बिष्ट (डडेल्धुरा),पत्रकार डिआर पन्तलाई सम्मानित गरिने कार्यक्रम रहेको छ ।

त्यस्तै कविता कचहरीमा डा. नवराज लम्साल, बिप्लव प्रतीक, सोझो गाउँले, आख्यानको ओज र सकस विषयमा मदन पुरस्कार बिजेता रामलाल जोशी, विवेक ओझा ,श्री माँ पुर्णागीरी समिति उत्तराखण्डका अध्यक्ष किसन तिवारी, परशुराम तीर्थ सम्बन्धी जानकार तीर्थराज अवस्थी र अन्य प्रतिष्ठित व्यक्तित्वको उपस्थिति रहने बताइएकाे छ । 

महोत्सवमा पत्रकार टीकाराम यात्री, राजेन्द्र बानिया ,दीर्घराज उपाध्याय, कैलाश कुमार पाण्डेय,टेकराज अवस्थी, बरुण पनेरुले सहजीकरण गर्ने रंगुन साहित्य प्रतिष्ठानका अध्यक्ष वद्रीसिंह खत्रीले बताए ।

डडेल्धुरा संस्कृति डोटेली भाषा, नेपाल भारत सम्बन्ध, स्थानीय सरोकारका विषय उठान हुने र परशुराम तीर्थको प्रचारप्रसार तथा महिमा वर्णनमा टेवा पुग्ने उद्देश्यका साथ आयोजना हुने महोत्सको  तयारी तिव्र रूपमा चलिरहेको आयोजक समितिले जनाएको छ ।

महोत्सवमा स्थानीय संस्कृतिको प्रदर्शनी गरिने, परशुराम तीर्थलाई साँस्कृतिक पर्यटनको केन्द्र बनाउन प्रेरित हुने ब्रुसर, पम्पलेट र पुस्तक वितरण गरिने छन् ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update