Paschim Express
भारतमा बैतडीका दाजुबहिनीको शङ्कास्पद मृत्यु

काठमाडाैं । भारतमा नेपाली दाजुबहिनीको शङ्कास्पद मृत्यु भएकाे छ ।  बैतडीको पुर्चौडी नगरपालिका–४ भोडरका दुई दाजुबहिनीको भारतको कर्नाटक राज्यमा शङ्कास्पद मृत्यु भएको हाे ।

कर्नाटकस्थित गाउँबस्तीमा मजुदरी गरिरहेका नन्दसिंह धानुकको १७ वर्षीय छोरा विक्रम र १५ वर्षीया छोरी शिरिष्माको गत शनिबार शङ्कास्पद मृत्यु भएको नन्दका मावलीतर्फका काका जीवन धामीले जानकारी दिए ।

“दुवै दाजुबहिनीको हत्या गरी स्थानीय खोलामा डुबेर मृत्यु भएको अपवाह फैलाइएको कर्नाटकमा रहेकाले दाबी गरेका छन्”, धामीले भने, “दुवैको शरीरमा चोटपटक देखिन्छ ।”

बुबाआमाको आग्रहमा शिरिष्मा एक महिनाअघि र विक्रम करिब छ महिनाअघि मात्रै भारत गएका थिए ।

दुवैको शव स्थानीय अस्पतालमा राखिएको उनको भनाइ छ । घटनापछि मृतकका बुबा नन्दसिंह बेपत्ता रहेको बताइएको छ ।

“सोमबार नै आफन्तको जिम्मा लगाएर शव दाहसंस्कार गर्ने योजना थियो”, धामीले भने, “तर, अझै शव अस्पतालमै छ ।” मृतकका आफन्तले भने घटनाको छानबिनको माग गरिरहेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update