Paschim Express
८४ को चुनाव देउवाले गराउनुहुन्छ : गृहमन्त्री लेखक

धनगढी । गृहमन्त्री रमेश लेखकले अहिले नै मन्त्रीमण्डल फेरबदल नहुने बताएका छन् । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले प्रधानमन्त्री कार्यकारी हुने व्यवस्थामा मन्त्रीमण्डलमा फेरबदल हुनु सामान्य कुरा भएको बताए । उनले मन्त्री हेरफेरको चर्चाबारे गरिएको प्रश्नमा मन्त्रिपरिषद्मा हेरफेरको कुरा आजसम्म नचलेको दाबी गरे । 

 मन्त्री लेखकले ०८४ को निर्वाचनसम्म कांग्रेस–एमालेको वर्तमान गठबन्धन कायम रहनेमा कुनै शंका नरहेको बताए । ‘भन्नेहरुले त यो सरकार दशैंभन्दा पर जाँदैन भने, त्यसपछि तिहार कटदैन भने । भन्नेहरुको पछि लाग्ने होइन, यो सरकार बनेको एकवर्ष ८ महिनापछि भने परिवर्तन हुन्छ’ नेता लेखकले भने, ‘त्यसपछि पार्टी सभापति शेर बहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ, उहाँले ८४ को चुनाव गराउनु हुन्छ । त्यपछि जसले बहमुत ल्यायो, त्यसैको सरकार हुन्छ । ’ 

 लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न चीन भ्रमणलाई लिएर सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । बीआरआईअन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा कांग्रेस र एमालेका फरकफरक मान्यता देखिएका भएता पनि दुवै दलबीच हुने समझ्दारीका आधारमा अघि बढ्ने बताए । 

बीआरआइमा अनुदान लिने तर ऋणका रुपमा भने स्वीकार नगर्ने कांग्रेसको औपचारिक निर्णय रहेको भन्दै गृहमन्त्री लेखकले सहमतिमा नै यो विषय अगाडि बढ्ने दाबी गरे । उनले भने, ‘कांग्रेसले त ऋणका रुपमा नलिने भनेर यसअघि नै निर्णय गरिसकेका छ, एमालेले पनि ऋणका रुपमा भए पनि लिनुपर्छ नै नभनेका कारण दुवै दलबीच छलफल चलिरहेको छ त्यही अनुसार सरकार अघि बढ्छ ।’ 

 मन्त्री लेखकले गृह जिल्ला कञ्चनपुरमै भएको निर्मला पन्त बलात्कार तथा हत्याको अनुसन्धान जारी रहेको बताए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update