
काठमाडाैं । माघ ९ गते साँझ भारतको महाराष्ट्र राज्य, जलगाउँ जिल्लाको परधाडे स्टेसननजिकै भएको रेल दुर्घटनामा मृत्यु भएका सातै जना नेपालीकाे परिचय खुलेकाे छ । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी उक्त रेल दुर्घटनामा परी मृत्यु भएका ७ नेपालीको नाम सार्वजनिक गरेको हो ।
मन्त्रालयका अनुसार दुर्घटनामा ४३ वर्षीया कमला भण्डारी (कैलाली), ४० वर्षीय लछिराम पासी (कैलाली), ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा (मंगलसेन, अछाम), ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीय मैसारा कामी विश्वकर्मा (मंगलसेन, अछाम), ६० वर्षीय जोक्ला उर्फ कला कामी (कमलबजार, अछाम) र ३२ वर्षीय राधेश्याम राध (डँडुवा, बाँके) को मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा घाइते भएका ४ जना नेपालीमध्ये ३ जनाको स्थानीय अस्पताल र गम्भीर घाइते १ जनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचारका लागि परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास तथा काठमाडौँस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायसँग समन्वय एवं सहजीकरण गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
दुर्घटनामा ७ नेपालीसहित १३ जनाको मृत्यु भएको थियाे । १२५३३ नम्बरको पुष्पक एक्सप्रेस रेल लखनऊबाट मुम्बई जाँदै थियो ।
अधिकारीहरुका अनुसार बुधबार पुष्पक एक्सप्रेसको रेलमा आगो लागेको हल्ला फैलिएपछि एक यात्रुले इमर्जेन्सी रुपमा रेल रोक्नका लागि प्रयोग गरिने सिक्री तानेका थिए ।
त्यसपछि रेल रोकिनासाथ यात्रुहरु ओर्लिएर अर्को लिकतर्फ भागेका थिए । त्यही क्रममा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले उनीहरुलाई किचेको थियो । दुर्घटना भएको स्थान नजिक घुम्ती भएकाले पनि यात्रुहरुले विपरीत दिशाबाट आइरहेको रेल नदेखेर ठुलो मानवीय क्षति भएको अनुमान गरिएको छ ।
एक वरिष्ठ रेलवे अधिकारीले दिएको प्रारम्भिक जानकारीअनुसार पुष्पक एक्सप्रेसको कोच भित्र ‘तातो एक्सल’ वा ‘ब्रेक–बाइन्डिङको कारणले गर्दा झिल्काहरू निस्किएका थिए । जसका कारण केही यात्रु आत्तिए र तल हाम फालेका थिए ।