Paschim Express
सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री रावललाई कानुनविपरीत गाडी सुविधा

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले नियमविपरीत प्रदेश सरकारबाट गाडी सुविधा लिइरहेकाे पाइएकाे छ । उनले पूर्वमुख्यमन्त्री एवं सत्तापक्षमा रहेको दलको नेताको हैसियतले सरकारी गाडी प्रयोग गर्दै आएका हुन् । तर, पूर्वमुख्यमन्त्री र सत्तापक्षमा रहेको दलको नेतालाई गाडी सुविधा दिने व्यवस्था ऐनमा छैन  । 

रावलले गत असारदेखि आर्थिक मामिला मन्त्रालयको बा.१झ १४४७ नम्बरको गाडी प्रयोग गर्दै आएका थिए  । उक्त गाडी बिग्रिएपछि पुस अन्तिमदेखि रावलले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको गाडी प्रयोग गरिरहेका छन् । प्रदेश ०१–००१झ३१८ सरकारी नम्बरको गाडी आन्तरिक मामिलाले प्रदेशमा आउने विशिष्ट व्यक्तिको स्वागतका लागि प्रयोग गर्न खरिद गरेको थियो ।

पूर्वमुख्यमन्त्री र सत्तापक्षका दलका नेतालाई प्रदेश सरकार र प्रदेश सभाबाट सवारीसाधन उपलब्ध गराउने कानुनी व्यवस्था छैन । मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐनमा मुख्यमन्त्रीलाई दुई, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री एक–एकवटा सवारीसाधन उपलब्ध गराउने व्यवस्था छ । त्यस्तै, प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा सभामुख, उपसभामुख, विषयगत समितिका सभापति, प्रमुख प्रतिपक्ष दलका नेतालाई प्रदेश सभाले सवारीसाधन सुविधा उपलब्ध गराउने व्यवस्था छ । 

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले कानुन र सरकारको निर्णय नभए पनि पूर्वमुख्यमन्त्री र दलको नेता भएकाले व्यावहारिक रूपमा गाडी दिएको बताए । 

सार्वजनिक बिदाको दिन अनुमति नलिएर गाडी चलाएको भन्दै पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल सवार सरकारी गाडी कञ्चनपुरको दैजीमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र स्थानीयले शनिबार बिहान रोकेका थिए । शनिबार बिदाको दिन चलाउन अनुमति नरहेको भन्दै रास्वपा कार्यकर्ता र स्थानीयले रावल चढेको गाडी रोक्न खोजेका थिए । त्यस क्रममा विवाद भएको थियो । 

रावलले आफूमाथि दुव्र्यवहार भएको बताएपछि कञ्चनपुर प्रहरीले दैजीका स्थानीय व्यवसायी ४७ वर्षीय केशवराज पन्तलाई नियन्त्रणमा लिएर छोडेको हो । प्रहरीले शनिबार साँझ रास्वपा नगर सभापति डम्बरराज भट्टको जिम्मा लगाएर छाडेको थियो । 

 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update