काठमाडौं । आज २०७२ साल वैशाख १२ गतेको विनाशकारी महाभूकम्पको १० वर्ष पूरा भएको दिन । झण्डै उही समयमा फेरि भूकम्पको धक्का महसुस भएको छ ।
शुक्रबार बिहान ११ बजेर ५३ मिनेटमा सिन्धुपाल्चोकको फुल्पिङकोटलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। यो गोरखा भूकम्पपछिका ४ म्याग्निच्युडमाथिका ६०३ औँ परकम्पमध्ये एक हो।
२०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको महाभूकम्प गएको थियो, जसले देशभर ठूलो धनजनको क्षति गराएको थियो। त्यसपछि प्रत्येक वर्ष वैशाख १२ गतेलाई भूकम्प स्मृति दिवसको रूपमा मनाउने गरिन्छ।
आजको भूकम्पले क्षतिको विवरण नआएको भए पनि ठीक १० वर्षपछि र लगभग उही समयमा फेरि धक्का महसुस हुनुले जनमानसमा त्रास पुनः सतहमा ल्याएको छ ।