Paschim Express
नवदुर्गा गाउँपालिका केन्द्रमा आगलागी, तीन शाखा कार्यालयमा ठुलो क्षति

डडेल्धुरा । नवदुर्गा गाउँपालिका केन्द्रमा अवस्थित तीन वटा शाखा कार्यालयमा शनिबार दिउँसो आगलागी हुँदा ठूलो क्षति भएको छ। पालिका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थीका अनुसार डेढ बजेतिर पालिकाको नजिकै रहेको जंगलमा लागेको आगो फैलिँदै स्वास्थ्य शाखा, महिला तथा बालबालिका शाखा र आन्तरिक लेखा परीक्षण शाखामा प्रवेश गरेको थियो।

प्रिप्याफ संरचनाका भवन भएकाले आगो नियन्त्रणमा लिन कठिनाइ भएको र भित्र रहेका महत्वपूर्ण कागजातसमेत जलेर नष्ट भएको अध्यक्ष अवस्थीले जानकारी दिए।

हाल पनि जंगल क्षेत्रमा आगो नियन्त्रणमा नआएकाले जोखिम कायमै रहेको र थप क्षति हुन सक्ने अनुमान गरिएको छ। स्थानीयवासी, नेपाली सेना र प्रहरी संयुक्तरूपमा आगो निभाउने प्रयासमा जुटिरहेका छन्।

पालिका कार्यालयले हालसम्म क्षतिको यकिन विवरण संकलन गर्न नसकेको जनाइएको छ। विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update