काठमाडौं । सन् २०२५ को मनसुन अवधिमा नेपालसहित दक्षिण एसियामा औसतभन्दा बढी वर्षा र तापक्रम हुने प्रक्षेपण गरिएको छ। भारतको पुणेमा सम्पन्न दक्षिण एसियाली मौसमी पूर्वानुमान मञ्च (सास्कोफ) को ३१औं बैठकले यस्तो सामूहिक अनुमान सार्वजनिक गरेको हो।
सास्कोफका अनुसार हाल एल निनो र हिन्द महासागर द्विध्रुवीयता तटस्थ अवस्थामा छन् । र, मनसुन अवधिभर पनि यस्तै रहने सम्भावना छ। तर, विज्ञहरू सम्भावित अनिश्चिततालाई ध्यानमा राखी नियमित अद्यावधिकपूर्वक तयारी गर्न सुझाव दिन्छन्।
नेपालको सन्दर्भमा जल तथा मौसम विज्ञान विभागले चाँडै राष्ट्रिय पूर्वानुमान सार्वजनिक गर्ने तयारी गरेको छ। प्रारम्भिक नक्शा अनुसार सुदूरपश्चिम र मध्य नेपालमा औसतभन्दा बढी वर्षा हुने देखिएको छ।
यस वर्ष अधिक वर्षाका कारण सिंचाइका लागि लाभ पुग्ने सम्भावना भए पनि विपद् जोखिम पनि उस्तै छ। बाढी, पहिरो, डुबान र कटानका सम्भावित घटनालाई लिएर पहाडी र तराई क्षेत्रमा विशेष सतर्कता आवश्यक छ।
विपद् विशेषज्ञ डा. धर्मराज उप्रेतीका अनुसार तीव्र वर्षाले हिमाली र पहाडी क्षेत्रमा मानवीय क्षति हुनसक्छ भने तराईमा डुबान र नदी कटानको सम्भावना छ। यसले कृषि, जलस्रोत र स्वास्थ्यमा असर पार्न सक्छ।







