Paschim Express
आगामी बजेटमा कृषि र पशुपालन प्रमुख प्राथमिकतामा हुन्छ : राज्यमन्त्री  खड्का

डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कृषि तथा पशुपालन क्षेत्रलाई विशेष प्राथमिकतामा राखिने बताएकी छिन् ।

शुक्रबार कृषि ज्ञान केन्द्र तथा भेटेनरी सेवा विशेषज्ञ केन्द्र डडेल्धुराको आयोजनामा सम्पन्न “आगामी आर्थिक वर्षका लागि योजना तर्जुमा गोष्ठी”मा बोल्दै राज्यमन्त्री खड्काले स्थानीय तहबाट सिफारिस भएका योजनाहरूलाई प्राथमिकता दिने नीति लिइएको जानकारी दिइन् ।

उनले योजना निर्माणमा बिचौलियाको प्रभाव, दोहोरोपन र व्यक्तिकेन्द्रित कार्यक्रमहरूमा आएको गुनासो सम्बोधन गर्न पारदर्शिता, जवाफदेहिता र गुणस्तरीयता सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शंकर शाहले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै योजना तर्जुमा प्रक्रिया साझा जिम्मेवारीका साथ अघि बढाउनु पर्ने बताए ।

कार्यक्रम जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा डडेल्धुराका सातवटै पालिका प्रमुख तथा उपप्रमुख, अगुवा किसान, सञ्चारकर्मी र सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update