Paschim Express
सुदूरपश्चिमका कानुन सचिवद्वारा प्रेस स्वतन्त्रतामाथि हमला, कारबाहीको माग

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव लिलाधर सुवेदीले सामाजिक सञ्जालमार्फत प्रेस स्वतन्त्रता विरुद्ध टिप्पणी गरेका भन्दै नेपाल पत्रकार महासंघ केन्द्रले कडा आपत्ति जनाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुवेदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्। विज्ञप्तिमा भनिएको छ, “सुदूरपश्चिम प्रदेशका कानुन सचिव लिलाधर सुवेदीद्वारा सामाजिक सञ्जालमार्फत संचारमाध्यम र सम्पूर्ण पत्रकारिता क्षेत्रलाई लक्षित गर्दै व्यक्त अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।”

सचिव सुवेदीले वैशाख २० गते शनिबार अन्नपूर्ण पोस्ट दैनिक र धनगढीको ‘ईविगुल डटकम’मा प्रकाशित समाचारको लिंक सेयर गर्दै फेसबुकमा लेखेका थिए, “पैसा लिएर समाचार लेख्ने पत्रकार र मिडिया हाउसलाई पनि प्रेस स्वतन्त्रता दिवसको शुभकामना।”

महासंघको विज्ञप्तिमा थप भनिएको छ, “पत्रकारले लेखेको समाचारप्रति असहमति भएमा कानुनी विधि र पद्धतिअनुसार गुनासो गर्न सकिने प्रचलित व्यवस्था रहेको छ। तर, जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसरी सार्वजनिक रूपमा व्यक्त गरिएको अभिव्यक्ति प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न र मिडिया क्षेत्रलाई बदनाम गराउने नियतपूर्ण प्रयास हो भन्ने स्पष्ट हुन्छ।”

महासंघले प्रेस स्वतन्त्रता विरोधी यस्तो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सम्बन्धित निकायलाई यस्ता हर्कत दोहोरिन नदिन कडा कदम चाल्न आग्रह गरेको छ। “प्रेसको संवैधानिक सुनिश्चितता र सम्मान कायम राख्नुपर्नेमा जोड दिँदै महासंघ यस्ता हतोत्साहित गर्ने र अपमानजनक क्रियाकलापप्रति गम्भीर आपत्ति प्रकट गर्दछ,” विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update