Paschim Express
गोरखापत्रको उत्कृष्ट सम्मान डडेल्धुराका पुष्कर भण्डारीलाई

डडेल्धुरा । नेपालको पत्रकारिता क्षेत्रमा सशक्त योगदान दिँदै आएका डडेल्धुराका  पत्रकार पुष्कर भण्डारीले गोरखापत्र दैनिकको उत्कृष्ट समाचारदाताको रूपमा सम्मान प्राप्त गर्न सफल भएका छन्। गोरखापत्र संस्थानको १२५ औँ वर्ष प्रवेश र ६३ औँ वार्षिकोत्सवको अवसरमा प्रदान गरिने यो सम्मानले भण्डारीको निरन्तर लगनशीलता र उत्कृष्ट लेखनीलाई संस्थागत मान्यता दिएको छ।

गोरखापत्र संस्थानले २०८१ सालमा सातै प्रदेश र उपत्यकाबाट उत्कृष्ट काम गर्ने आठ जना समाचारदातालाई छनोट गरेको हो। सुदूरपश्चिम प्रदेशबाट पुष्कर भण्डारी छनोट हुनु उनको क्षेत्रीय प्रतिनिधित्वका लागि गर्वको विषय बनेको छ। प्रेस युनियन डडेल्धुराका सचिवसमेत रहेका भण्डारी विगत लामाे समयदेखि सामाजिक, राजनीतिक र विकास पत्रकारितामा उल्लेखनीय योगदान दिँदै आएका छन्। उनले विशेषतः ग्रामीण क्षेत्रका जनताको आवाज, विकासमा देखिएका असन्तुलन र सामाजिक विसंगतिहरू उजागर गर्दै गोरखापत्रमा नियमित प्रभावशाली समाचारहरू प्रकाशित गर्दै आएका छन्।

सामाजिक न्याय, सार्वजनिक हित र उत्तरदायी पत्रकारिताको पक्षमा उभिँदै आएका भण्डारीको लेखनीले सुदूरपश्चिमका विकट जनसमुदायको कथा राजधानीसम्म पुर्‍याउने काम गरेको छ। यसै निष्ठा र लगनशीलताको कदरस्वरूप उनलाई संस्थानले देशभरका उत्कृष्ट पत्रकारमध्ये एकको रूपमा छनोट गरेको हो।

उनीसहित सम्मानित हुने अन्य पत्रकारहरूमा कोशीबाट बाबुराम कार्की, मधेशबाट विजयकुमार साह, बागमतीबाट अनिल पराजुली, गण्डकीबाट ठाकुरप्रसाद आचार्य, लुम्बिनीबाट जानु पाण्डे, कर्णालीबाट मुना हमाल र उपत्यकाबाट नगेन्द्र सापकोटा छन्।

उनीहरूलाई बुधबार राष्ट्रिय सभा गृहमा आयोजना भएकाे विशेष समारोहमा सम्मानित गरिएकाे छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update