Paschim Express
सेती नदी–६ जलविद्युत् आयोजनाको डिपिआर अध्ययनका लागि भारतीय प्राविधिक टोली डोटीमा

डोटी, बोगटान फुड्सिल । डोटीको बोगटान फुड्सिल गाउँपालिकास्थित सेती नदी–६ (एसआर–६) जलाशययुक्त जलविद्युत् परियोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) अनुगमनका लागि भारतीय प्राविधिक टोली स्थलमा पुगेको छ।

भारत सरकारको प्रतिनिधित्व गर्दै जिओलोजिकल सर्भे अफ इन्डिया का निर्देशक नितु चौहान, एनएचपिसी कम्पनीका परियोजना प्रमुख प्रकाश चन्द्र उपाध्याय र एसआर–६ परियोजनाका महाप्रबन्धक अजय बर्मासहितको टोलीले आयोजना क्षेत्रको स्थलगत निरीक्षण गरेको हो।

४५० मेगावाट क्षमताको यो जलविद्युत् आयोजना हाल डिपिआर निर्माणको चरणमा रहेको छ। परियोजनाको निर्माण कार्य भारतकै सरकारी कम्पनी एनएचपिसीले गरिरहेको हो।

टोलीको आगमनमा बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिला र उपाध्यक्षले स्वागत गरेका थिए। अध्यक्ष गड्सिलाले परियोजना निर्माण कार्यमा आवश्यक सबै प्रकारका सहयोग गर्न गाउँपालिका तयार रहेको प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update