![सुदूरपश्चिमका दुईसहित रूसी सेनामा भर्ती भएका थप २३ नेपालीको मृत्यु [नामसहित]](https://www.paschimexpress.com/uploads/posts/Untitled-design-1747125019.png)
काठमाडौं । युक्रेनसँग जारी युद्धमा रूसी सेनाको पक्षमा लडिरहेका थप २३ जना नेपालीको मृत्यु पुष्टि भएको छ। मृत्यु हुनेमध्ये सुदूरपश्चिम प्रदेशका दुई जना पनि छन्।
परराष्ट्र मन्त्रालयका अनुसार पुस ९ गतेयता विभिन्न जिल्लाका २३ नेपाली नागरिकको मृत्यु पुष्टि भएको हो। यससँगै रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या ७३ पुगेको छ।
मृतकहरूमा सुदूरपश्चिम प्रदेशका दार्चुलाका ललितसिंह डोबल र बैतडीका अर्जुनदत्त भट्ट रहेका छन्। उनीहरू दुबै लामो समयदेखि परिवारको सम्पर्कमा थिएनन्।
थप मृत्यु हुनेहरूमा नवलपरासीका हेमकुमार मगर, सल्यानका ताराप्रकाश घर्ती, संखुवासभाका रामकृष्ण अधिकारी, कास्कीका गीतबहादुर घर्तीमगर, बागलुङका मख्खनबहादुर पुन, मकवानपुरका रामकुमार प्रधान, मोरङका रोनल मिश्र, प्यूठानका भीमबहादुर घर्तीमगर, म्याग्दीका छमबहादुर घर्ती, सुर्खेतका सुजन शर्मा र रुकुम पश्चिमका रामकुमार बुढामगर छन्।
त्यस्तै, ठेगाना नखुलेका १० जना मृतकहरूमा लरबहादुर बुढा, नेत्रबहादुर थापा, विकास राई, रूपक राई, महेन्द्र मल्ल, अशोक जीसी, अमृत थापा आलेमगर, उदयराज थारू, प्रितम राई र प्रेमबहादुर लुंगेलीमगर रहेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म युद्धमा बेपत्ता भएका अन्य ५० जनाको पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया जारी छ। रुसले नेपाली नागरिकको सहभागिता बारे आधिकारिक तथ्यांक सार्वजनिक नगरे पनि अनुमानित रूपमा करिब १५ सय नेपालीले रूसी सेनामा भर्ती भएका छन्।