
बैतडी । जिल्लाको पाटन नगरपालिका–८ राङ्गाजुजौनाका ४५ वर्षीय सवारी चालक गणेश महराको शंकास्पद मृत्यु भएको छ। मृतकका आफन्तले कुटपिटबाटै उनको मृत्यु भएको दाबी गर्दै प्रहरीले किटानी जाहेरी दर्ता गरेका छन्।
गणेशका छोरा कृष्ण महराले स्थानीय नरेन्द्र महरालाई मुख्य आरोपी बनाउँदै जिल्ला प्रहरीमा जाहेरी दिएका हुन्। जाहेरीअनुसार, नरेन्द्रले गणेशको घाँटी समातेर टाउको सिमेन्टको भित्तामा ठोकेर गम्भीर घाइते बनाएका थिए। साथै, घटनामा संलग्न हुन सक्ने भन्दै दानसिंह महरा र कमलसिंह महरालाई पनि अनुसन्धानमा ल्याउन माग गरिएको छ।
वैशाख २ गते साथीभाइसँग मदिरा सेवनपछि गणेश घाइते भएका थिए तर उनलाई ११ दिनपछि मात्रै धनगढीको मायामेट्रो अस्पताल भर्ना गरिएको थियो। त्यसपछि सारथी अस्पताल हुँदै सेती प्रादेशिक अस्पताल लगिएको भए पनि अवस्था सुधार नआएपछि वैशाख ३० गते उनलाई घर ल्याइएको थियो। सोही राति उनको मृत्यु भएको हो।
घटनाको कारण स्पष्ट नभए पनि मृतकका आफन्तले कुटपिटका कारण चोट लागेर मृत्यु भएको आरोप लगाएका छन्। प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार, शवको पोस्टमार्टम जिल्ला अस्पतालमा गरिनेछ र जाहेरीपछि मात्र थप अनुसन्धान अघि बढाइनेछ।
मृतक गणेशका एक छोरा, दुई छोरी र श्रीमती छन्। परिवारजनले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।