
डडेल्धुरा । डडेल्धुरा सदरमुकाम बागबजारको भीडभाड र पार्किङ समस्या समाधान गर्न २०७३/०७४ सालदेखि सुरु गरिएको डकले बसपार्क निर्माण परियोजना अहिलेसम्म पूरा हुन सकेको छैन। वर्षाैदेखि अलपत्र परेको यो योजना हालै मात्र रुख कटान प्रक्रिया अघि बढेसँगै पुनः सक्रिय हुने संकेत देखिएको छ।
अमरगढी नगरपालिका–८ स्थित डकलेमा बसपार्क निर्माणको काम २०७३/०७४ सालमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय डोटीबाट ६० लाख रुपैयाँ विनियोजन गरी सुरु गरिएको थियो। ठेक्का सम्झौताका आधारमा जमिन सम्याउने र पर्खाल लगाउने काम गरिएको थियो, तर त्यसपछि बजेट अभावका कारण काम रोकियो।
वर्षौं काम थाल्न नसक्दा स्थानीयस्तरमा असुविधा र पार्किङ समस्या बढ्दै गयो। तर हालै, अमरगढी नगरपालिकाले वन विकास कोषमा झन्डै १ करोड ११ लाख रुपैयाँ क्षतिपूर्ति रकम जम्मा गरेपछि रुख कटानी कार्य सुरु भएको छ।
डकले बसपार्क निर्माणका लागि २०७९ जेठ महिनामा शहरी विकास तथा भवन निर्माण विभागले १६ करोड ५० लाख रुपैयाँ लागत अनुमानसहित टेन्डर आह्वान गरेको थियो। घटघटमा साढे १३ करोडमा ठेक्का सम्झौता भए पनि वातावरणीय प्रभाव मूल्यांकन नहुँदा काम रोकिएको थियो।
हाल ४० रोपनी क्षेत्रफलमा बसपार्कसँगै शपिङ कम्प्लेक्स, टर्मिनल भवन, पार्किङ, टिकट काउन्टर, र शौचालय जस्ता संरचना निर्माण गर्ने योजना छ।
स्थानीय यातायात व्यवसायीले बागबजारको सानो बसपार्कमा सवारी पार्किङ गर्न कठिनाइ बढेको र दुर्घटनाको जोखिम पनि देखिएको बताउँछन्। डकले बसपार्क निर्माण पूरा भएपछि यो समस्या केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।
तर बजेटको निरन्तरता र प्रभावकारी कार्यान्वयन नभएसम्म यो परियोजना पूरा हुने निश्चितता भने छैन।