Paschim Express
गेटामा २ दशकदेखिको प्रयास सफल,  अब स्वास्थ्य शिक्षा सुदूरपश्चिममै

डडेल्धुरा । नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा सञ्चालनको कानुनी ढोका खुलेको छ। प्रतिनिधिसभाबाट आइतबार ‘सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ सर्वसम्मत रूपमा पारित भएसँगै सुदूरपश्चिममा मेडिकल शिक्षाको औपचारिक सुरुवात हुने भएको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयक पेस गरेका थिए। अब राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि उक्त विधेयक ऐनका रूपमा लागू हुनेछ।

शिक्षामन्त्री पन्तका अनुसार विश्वविद्यालयमा दुई जना सहकुलपति रहनेछन्, शिक्षामन्त्री र स्वास्थ्यमन्त्री। प्रधानमन्त्री कुलपति हुने भए पनि उनको भूमिका औपचारिक मात्र हुनेछ। विश्वविद्यालयको नीति निर्माणदेखि प्रशासनिक निर्णयसम्मको नेतृत्व शिक्षा हेर्ने सहकुलपतिले गर्नेछन्।

गेटामा विश्वविद्यालय स्थापनाको माग दुई दशकभन्दा अघिदेखि उठ्दै आएको हो। २०५६ सालमै मेडिकल कलेजको अवधारणा अघि सारिए पनि कानुनी र प्रशासनिक अन्योलका कारण काम अघि बढ्न सकेको थिएन। अहिले भने करिब सात अर्बको लागतमा ५० भन्दा बढी भवन निर्माण भइसकेका छन्।

विधेयकमा विश्वविद्यालय अन्तर्गत सभा, प्राज्ञिक परिषद्, कार्यकारी परिषद्, अनुसन्धान केन्द्र, स्कूल, शिक्षण संस्था र शिक्षण अस्पताल रहने व्यवस्था गरिएको छ। उपकुलपति, डीन, प्रिन्सिपल, अस्पताल निर्देशक, रजिष्ट्रारजस्ता पदाधिकारी नियुक्त हुनेछन्।

हाल गेटामा स्वास्थ्य मन्त्रालयअन्तर्गत ५० शैय्याको अस्पताल सञ्चालनमा छ भने सेती प्रादेशिक अस्पताललाई पनि विश्वविद्यालय अन्तर्गत गाभ्ने तयारी भइरहेको छ। सरकारले अबको शैक्षिक सत्रदेखि नर्सिङ, एमबिबिएस, फार्मेसी, फिजियोथेरापी लगायतका कोर्स सुरु गर्ने तयारी गरेको छ।

मेडिकल विश्वविद्यालय स्थापनाका लागि संघर्ष गर्दै आएको स्थानीय संघर्ष समितिका संयोजक लोकराज पाण्डेले विधेयक पारित हुनु ‘२० प्रतिशत मात्रै उपलब्धि’ भएको बताएका छन्। ‘अब कार्यान्वयनमा कडाइका साथ खबरदारी गरिरहनु आवश्यक छ,’ उनले भने।

पूर्वसांसद डा. दीपकप्रकाश भट्टले सुदूरपश्चिममा चिकित्सा शिक्षा सञ्चालन हुन लागेकोमा खुसी व्यक्त गर्दै स्थानीय अस्पतालहरुलाई १०० शैय्यामा स्तरोन्नति गरी कार्यान्वयनमा लैजान सुझाव दिएका छन्।

सुदूरपश्चिम क्षेत्र अहिलेसम्म कुनै प्रतिष्ठान वा विश्वविद्यालयबाट वञ्चित रहेको अवस्थामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले मेडिकल जनशक्ति उत्पादन र गुणस्तरीय सेवा उपलब्ध गराउन टेवा पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: सोमबार, जेठ ६, २०८२  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update