
कैलाली । कैलालीमा सुत्केरी व्यथाले छट्पटाइरहेकी महिलालाई सडकमै सुरक्षित रूपमा सुत्केरी गराउन सहयोग गर्ने प्रहरी जवान चन्द्रिका देउवालाई पुरस्कृत गरिएको छ।
मंगलबार गोदावरी नगरपालिका–१ मा कोठा भाडामा बस्दै आएकी २४ वर्षीया चन्द्रा आचार्यले सडकमै छोरालाई जन्म दिएकी थिइन्। त्यस क्रममा प्रहरी जवान देउवाले प्रसूति गराउन सक्रिय भूमिका खेलेकी थिइन्।
उक्त साहसी र मानवीय कार्यको कदर गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेको हो। कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) बालनरसिंह राणाले देउवालाई प्रशंसा पत्र प्रदान गरेका हुन्।
“सडकमै व्यथाले छट्पटाइरहेकी महिलालाई सघाएर सुरक्षित रूपमा सुत्केरी गराई अस्पतालसम्म पुर्याएको उत्कृष्ट कार्यका लागि प्रहरी जवान देउवालाई पुरस्कृत गरिएको हो,” एसपी राणाले बताए।
मंगलबार बिहान एक महिला बिरामी परेको सूचना पाएपछि खैराना प्रहरी चौकीबाट प्रहरी हवल्दारसहित प्रहरी जवान देउवा घटनास्थलमा पुगेकी थिइन्। चन्द्राले त्यहीँ सडकमै छोरालाई जन्म दिएकी थिइन्। सुत्केरी गराउन देउवाले देखाएको संवेदनशीलता र तत्परताको भिडियो सामाजिक सञ्जालमा भाइरलसमेत बनेको छ।
घटनास्थलमा पद्म अस्पतालका स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिहरूको टोली पनि पुगेको थियो।
प्रहरीका अनुसार चन्द्राका श्रीमान् रोजगारीका लागि भारतमा छन्। उनी सुर्खेतको भेरीगंगा नगरपालिका–८ की हुन् भने बझाङका डम्बर जोशीसँग भागी विवाह गरेर अहिले अत्तरियामा डेरामा बस्दै आएकी छिन्।