
डडेल्धुरा । सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना, डोटीमा कार्यरत नायब सुब्बा पूर्ण सिंह विष्टविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानपछि विष्टले भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषद् अन्तर्गत जीएनके इण्टरमीडियट कलेज, कानपुरबाट हाइस्कुल उत्तीर्ण गरेको झुटो विवरणसहित नक्कली प्रमाणपत्र पेश गरेको पुष्टि भएको हो। सोही आधारमा उनले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेलबाट कार्यालय सहायक पदमा नियुक्ति लिई सरकारी ओहोदा, लाभ र सुविधा लिएको पाइएको छ।
आयोगका अनुसार, उक्त कार्यले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर गरेको ठहर गर्दै विशेष अदालतमा कैद र जरिवानाको मागसहित आरोपपत्र दायर गरिएको हो।