Paschim Express
सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको काङ्वोन युनिभर्सिटीबीच शैक्षिक तथा अनुसन्धान सहकार्य हुने

डडेल्धुरा । नेपालकाे सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाकाे काङ्वोन नेशनल युनिभर्सिटीबीच विद्यार्थी तथा प्राध्यापक आदान–प्रदान हुने भएको छ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ संकाय र काङ्वोन युनिभर्सिटीको इलेक्ट्रोनिक तथा एआई प्रणाली इन्जिनियरिङ विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारीपत्र आदान–प्रदान गरिएको हो।

समझदारीपत्रमा काङ्वोन युनिभर्सिटी तर्फबाट विभाग प्रमुख प्रा. डा. वाङ चो र सुदूरपश्चिम विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन किसन दत्त भट्टले हस्ताक्षर गरेका हुन्। उक्त कार्यक्रम सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्तको उपस्थितिमा सम्पन्न भएको थियो।

पाँच वर्षसम्म प्रभावकारी रहने उक्त समझदारीपत्रअनुसार संयुक्त अनुसन्धान परियोजना सञ्चालन, अनुसन्धानका लागि संयुक्त प्रस्ताव तयारी, तथा गोष्ठी, सम्मेलन र कार्यशालाजस्ता शैक्षिक कार्यक्रमहरू आयोजना गरिनेछ। साथै, विद्यार्थी र प्राध्यापकबीच आपसी आदान–प्रदानका कार्यक्रमहरू समेत सञ्चालन गरिनेछन्।

दुवै विश्वविद्यालयले दीर्घकालीन शैक्षिक सहकार्य, आपसी विश्वास, मित्रवत् सम्बन्ध र साझा हितका आधारमा सहकार्यलाई अझ बलियो बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन्।

 

प्रकाशित मिति: शनिबार, जेठ ११, २०८२  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update