Paschim Express
मुख्यमन्त्री शाहद्वारा प्राथमिकतामा आधारित योजना छनोट गर्न गाउँपालिकालाई आग्रह

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विकास निर्माणमा प्रभावकारिता ल्याउन प्राथमिकता आधारित योजनाको छनोट गर्न स्थानीय तहलाई आग्रह गरेका छन् ।

सोमबार डडेल्धुराको आलिताल गाउँपालिका वडा नं. ४ र ८ का भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाण–पुर्जा हस्तान्तरण तथा वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले धेरै योजना प्रस्तुत गर्नुको सट्टा आवश्यकतालाई केन्द्रमा राखेर योजना छनोट गर्दा जनताले प्रत्यक्ष लाभ पाउने बताए ।

असङ्ख्य योजना ल्याएर कार्यान्वयनमा समस्या झेल्नु भन्दा आवश्यकता पहिचान गरेर योजना छनोट गरे प्रभावकारी विकास सम्भव हुन्छ, उनले भने । कार्यक्रममा प्रमुख अतिथि रहेका मुख्यमन्त्री शाहले गाउँपालिकाको समुन्नत विकासका लागि सबै पक्ष मिलेर हातेमालो गर्नुपर्नेमा जोड दिए ।

उनले भूमिहीन समुदायलाई राज्यको मूल धारमा ल्याउन गरिएको प्रयास सराहनीय भएको उल्लेख गर्दै आगामी दिनमा थप योजनामार्फत सहयोग पुर्‍याइने प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा भूमि समस्या समाधान आयोग, जिल्ला समिति डडेल्धुराको समन्वयमा आलिताल गाउँपालिकाले वडाका १६ जना दलित तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १४, २०८२  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update