Paschim Express
सुदूरपश्चिमका  १६ स्थानमा वर्षा तथा नदी सतह मापन केन्द्र स्थापना

धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक आयोजित ‘प्रदेशस्तरीय मनसुन फोरम–२०८२’ मंगलबार धनगढीमा सम्पन्न भएको छ। जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाको आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेशका मन्त्री, विज्ञ, प्रशासन, सुरक्षा निकाय र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

फोरममा बोल्दै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले प्रदेशका १६ स्थानमा वर्षा र नदी सतह मापनका लागि केन्द्र जडान भइसकेको जानकारी दिए। साथै, स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई आवश्यक सामग्री वितरण गरिएको र विपद् सम्पर्क व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्न मन्त्रालय निरन्तर सक्रिय रहेको उनले बताए।

कार्यक्रममा मौसम विज्ञ डा. धर्मराज उप्रेतीले यस वर्ष मनसुन औसत समयभन्दा पहिला प्रवेश गर्ने र वर्षा पनि औसतभन्दा बढी हुने अनुमान गरिएको जानकारी दिए। उनले संभावित जोखिमलाई ध्यानमा राख्दै तत्काल पूर्वतयारीमा जुट्नुपर्नेमा जोड दिए।

विभागका प्रतिनिधि विभूति पोखरेलले मौसम पूर्वानुमान प्रणालीलाई अझ प्रभावकारी बनाउन चलिरहेका पहलहरूबारे जानकारी गराए। त्यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति दीपेन्द्र विष्टले सुदूरपश्चिमको समग्र जोखिम परिदृश्य र हाल भइरहेका पूर्वतयारी गतिविधिहरू प्रस्तुत गरे।

 

प्रकाशित मिति: बुधबार, जेठ १५, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update