
काठमाडौं । सरकारले डडेल्धुराको अजयमेरु गाउँपालिका क्षेत्रमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन अगाडि बढाउने भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने घोषणा गरेको हो।
संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले अजयमेरुमा प्रस्तावित विमानस्थलसहित तेह्रथुमको चुहान डाँडा र उदयपुरको सगरमाथा विमानस्थलको पनि अध्ययन गरिने जानकारी दिए।
उनका अनुसार, "डडेल्धुराको अजयमेरु विमानस्थलको विस्तृत अध्ययन गरी आयोजना प्रतिवेदन तयार गरिनेछ।"
यो प्रस्ताव सुदूरपश्चिम क्षेत्रको हवाई सेवा विस्तारका लागि महत्वपूर्ण मानिएको छ। हाल सुदूरपश्चिमका अधिकांश जिल्ला सडक यातायातमै निर्भर छन्। विमानस्थल बनेमा डडेल्धुरामा स्वास्थ्य, शिक्षा, पर्यटन र आपत्कालीन उद्धार सेवामा सहजता आउने अपेक्षा गरिएको छ।
कार्तिक २९ गते गृहजिल्ला पुगेका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विमानस्थलका लागि प्रस्तावित अजयमेरु गाउँपालिका– १ पुइलेक डाँडामा निरीक्षका लागि पुगेका थिए
निरीक्षणपछि उनले हवाई मैदान निर्माणका लागि सम्भाव्यता सर्भे भएको र अब ‘डिटेल सर्भे, डिटेल डिजाइनिङ’ गरिने बताएका थिए । यी दुई वटै सर्भे भएपछि बजेट ल्याउने उनले बताएका थिए ।
२०७६ मा विमानस्थल निर्माणका लागि उक्त स्थान छनोट गरिएको थियो ।