
डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–१२ स्थित बीपी प्राथमिक विद्यालयका ५३ जना र परशुराम नगरपालिका–४, रज्यौडास्थित समैजी आधारभूत विद्यालयका ४५ जना गरी जम्मा ९८ जना राउटे समुदायका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
उक्त सामग्री वितरण कार्यक्रम सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालयमार्फत सामाजिक विकास कार्यालय डडेल्धुराले सञ्चालन गरेको हो।
शुक्रबार आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्रालयकी राज्यमन्त्री सरस्वती खड्काले विद्यालयमै पुगेर विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरेकी थिइन्।
राज्यमन्त्री खड्काले सरकार ‘आवाजविहीन, लोपोन्मुख तथा विपन्न वर्गको अभिभावक’ भएको उल्लेख गर्दै राउटे समुदायको संरक्षण, सहयोग तथा उत्साहवर्धनका लागि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको सक्रिय भूमिकाको आवश्यकता रहेको बताइन्। उनले भनिन्, “सरकारको कर्तव्य भनेको गरिब, निमुखा र पछाडि परेका वर्गलाई अगाडि ल्याउनु हो।”
कार्यक्रमका विशिष्ट अतिथि परशुराम नगरपालिकाका प्रमुख भरत जोशीले सामाजिक विकास कार्यालयले लोपोन्मुख तथा विपन्न परिवारका विद्यार्थीहरूका लागि शैक्षिक सामग्री वितरण गरी सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे। उनले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा मनोबल वृद्धि हुने र जनताले सरकार छ भन्ने अनुभूति गर्न पाउने भएकाले आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।
सामग्री वितरणको अवसरमा सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख राधाकृष्ण जोशीले राउटे समुदायका बालबालिका विशेष संरक्षण र आर्थिक अभावका कारण पढाइप्रति रुचि कम हुँदै गइरहेको उल्लेख गरे। उनले शैक्षिक सामग्री सहयोगबाट ती बालबालिकाहरू शिक्षातर्फ अभिप्रेरित हुने अपेक्षा पनि व्यक्त गरे।