Paschim Express
रुपालको अशिग्राम विद्यालयलाई क्याम्पस बनाउन पूर्ण सहयोग गर्ने मन्त्री खड्काको प्रतिबद्धता

डडेल्धुरा, रुपाल । भागेश्वर गाउँपालिका- २ मा रहेको अशिग्राम माध्यमिक विद्यालयले आफ्नो ७१औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्कालाई बाजागाजासहित भव्य स्वागत गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले विद्यालयको ऐतिहासिक योगदानको प्रशंसा गर्दै अशिग्रामलाई क्याम्पसको रूपमा विकास गर्न प्रदेश सरकार पूर्ण रूपमा तयार रहेको बताइन्। "यो विद्यालय क्षेत्रकै सबैभन्दा पुरानो हो। यसले धेरै शिक्षित वर्ग उत्पादन गरेको छ। आगामी दिनमा यो क्याम्पस बनेको देख्न चाहन्छु," उनले भनिन्।

Messenger_creation_C42B9021-71B0-4B76-B1DB-4551E0F7A0F3-1748696598.jpeg
 

राज्यमन्त्री खड्काले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको लागि अभिभावक, विद्यालय र सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै शैक्षिक सुधारमा सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिइन्।

विद्यालय विसं २०११ मा पण्डित बलराम जोशीद्वारा स्थापना भएको हो भने २०२१ सालमा कक्षा १ देखि १० सम्मको स्वीकृति पाएको थियो। विद्यालय हाल ३० रोपनी क्षेत्रफलमा फैलिएको छ।

प्रधानाध्यापक राजेन्द्र बहादुर पाण्डेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार विद्यालयमा हाल ३०१ जना विद्यार्थी अध्ययनरत छन्। विभिन्न दाताहरूको सहयोगमा विद्यालयमा शैक्षिक सामग्री तथा भौतिक संरचना निर्माण भइरहेका छन्।

गरीब, टुहुरा तथा जेहेन्दार विद्यार्थीहरूको लागि ६ लाख ४२ हजार रुपैयाँको छात्रवृत्ति अक्षयकोष समेत स्थापना गरिएको छ। उक्त कोष विभिन्न दाताहरूले आफ्ना आमाबुबाको सम्झनामा सहयोग गरेका हुन्।

कार्यक्रममा विशिष्ट अतिथि भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटौत रहेका थिए। उनले विद्यालय तथा क्षेत्रको समग्र विकासमा निरन्तर सहयोग गरिरहेको जानकारी दिए।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पहिलो ओलम्पियन बक्सिङ खेलाडीलाई विशेष सम्मान प्रदान गरिएको थियो। उक्त खेलाडी भागेश्वर–२, रुपालका स्थायी बासिन्दा हुन्।

गाउँपालिकाका उपाध्यक्ष पुष्पा ठकुराठी, वडा अध्यक्षहरू, स्थानीय कर्मचारी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा सांस्कृतिक प्रस्तुति, भाषण तथा सम्मान कार्यक्रमसमेत सम्पन्न भएको थियो।

प्रकाशित मिति: शनिबार, जेठ १८, २०८२  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update