Paschim Express
भाेलिदेखि डडेल्धुरासहित देशभर अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

डडेल्धुरा । गण्डकी प्रदेश सरकारले ल्याएको नयाँ ऐनको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा सार्वजनिक यातायात सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ। उक्त निर्णय कार्यान्वयन हुँदै डडेल्धुरामा पनि भोलि जेठ १९ गते (सोमबार)देखि लागू हुने भएको हो।

महासंघको जेठ १३ गते बसेको बैठकले सार्वजनिक यातायात व्यवसायी र मजदुरका न्यायिक मागहरू सरकारले बेवास्ता गरिरहेकाले आन्दोलनमा उत्रिनुपर्ने निष्कर्ष निकाल्दै देशभर चरणबद्ध रुपमा सेवा बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको हो।

त्यही निर्णयअनुसार महासंघमा आबद्ध उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात प्रालिले डडेल्धुरामा पनि सार्वजनिक सवारी सञ्चालन गर्न नसकिने जानकारी दिएको छ। संस्थाका कार्यवाहक अध्यक्ष दीपर्क राज भट्टले प्रमुख जिल्ला अधिकारीलाई पठाएको पत्रमा २०७९/०२/१९ गतेदेखि सार्वजनिक सेवा बन्द हुने उल्लेख छ।

यातायात बन्द भएपछि सुदूरपश्चिमका जिल्ला डडेल्धुरा, कैलाली, कञ्चनपुर, बझाङ, बाजुरा, अछाम लगायतका क्षेत्रमा लामो दूरीका यात्रुहरूलाई समस्या पर्ने निश्चित देखिएको छ। विशेषगरी राजधानी काठमाडौँ, नेपालगञ्ज, धनगढी जस्ता स्थानमा आवत–जावत गर्ने यात्रुहरू मर्कामा पर्नेछन्।

495269089_1861093727796202_1672608726219234720_n-1748760385.jpg
 

कालो नम्बर प्लेटका सवारी साधन ठप्प
नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समिति तथा विभिन्न यातायात समितिहरूले गण्डकी प्रदेश सरकारले ल्याएको ऐनप्रति आपत्ति जनाउँदै सम्पूर्ण कालो नम्बर प्लेट भएका सार्वजनिक सवारीसाधन अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका हुन्।

यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिका अनुसार सरकारी तथा निजी प्रयोजनका सवारीसाधन भने सञ्चालन गर्न दिइनेछ।

व्यवसायीहरूले हालको कानुनी संरचना र राज्यको नीति आफूहरूविरुद्ध रहेको भन्दै यसले व्यवसाय संकटमा पारिरहेको गुनासो गर्दै आएका छन्। कर प्रणाली, सवारी नवीकरण, जरिवाना संरचना, इजाजत प्रणालीलगायतका विषयमा व्यवसायीको असन्तुष्टि रहेको छ।

 

प्रकाशित मिति: आइतबार, जेठ १९, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update