Paschim Express
डडेल्धुरामा अभिभावकविहीन १५६ बालबालिकालाई  आर्थिक सहयोग

डडेल्धुरा । सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालय डडेल्धुराले अभिभावकविहीन बालबालिकाहरूका लागि वैकल्पिक हेरचाह कार्यक्रमअन्तर्गत डडेल्धुरा जिल्लाका सातै स्थानीय तहका १५६ बालबालिकालाई जनही ६ हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरेको छ।

सहयोग हस्तान्तरण कार्यक्रमका क्रममा सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले “जसको आमा-बुबा छैन, उसको सरकार छ” भन्ने भावनासहित कार्यक्रम सञ्चालन गरिएको बताइन्। उनले सहयोग रकम सानो भए पनि बालबालिकाहरूको लुगा, किताब, कापी लगायत आवश्यक सामग्री खरिदमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्। साथै, यस्तो रकम बालबालिकाको आवश्यकताअनुसार खर्च गर्न अभिभावक र स्थानीय तहलाई आग्रह गरिन्।

b2ba998d-8fb5-4ce6-9c74-b51b4fe9dc62-1748761117.jpeg
 

राज्यमन्त्री खड्काले डडेल्धुरामा निर्माण सम्पन्न भएको अनाथ आश्रम हालसम्म सञ्चालनमा नआएको भन्दै मन्त्रालयसँग छलफल गरेर निकट भविष्यमा सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी पनि दिइन्।

सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख राधाकृष्ण जोशीका अनुसार अभिभावकविहीन तथा एक जना अभिभावक गुमाएका बालबालिकाहरूलाई स्थानीय तहसँग समन्वय गरेर सहयोग रकम वितरण गरिएको हो।

वितरण विवरणअनुसार परशुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका, अमरगढी नगरपालिका, अजयमेरू गाउँपालिका, नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकाका २२ देखि २३ जना बालबालिकालाई सहयोग प्रदान गरिएको छ।

कार्यक्रमले अभिभावकविहीन बालबालिकाहरूको संरक्षण तथा शिक्षामा सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: आइतबार, जेठ १९, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update