
धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घबहादुर सोडारी भ्रष्टाचार मुद्दामा विशेष अदालतमा आरोपपत्र दायर भएलगत्तै प्रदेशसभा सदस्य पदबाट स्वतः निलम्बनमा परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड आठ लाख रुपैयाँभन्दा बढीको अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा सोडारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। सोसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको जानकारीसहितको पत्र प्रदेश सभा सचिवालयमा प्राप्त भएको सचिव देवबहादुर बोगटीले पुष्टि गरेका छन्।
अब सभामुख भीमबहादुर भण्डारीले आगामी जेठ २३ गते बस्ने प्रदेश सभा बैठकमा सोडारी निलम्बनको सूचना पढेर सुनाउने छन्। उक्त सूचनापछि सोडारीले प्रदेश सभा सदस्यको हैसियतमा कुनै पनि जिम्मेवारी वा सुविधा पाउने छैनन्। सचिवालयले उनको तलब भत्ता तथा सेवासुविधा पनि रोकेर प्रक्रिया अघि बढाउने छ।
सोडारीले मुख्यमन्त्री, भौतिक पूर्वाधार विकास मन्त्री र सामाजिक विकास मन्त्रीको हैसियतमा पदको दुरुपयोग गर्दै भ्रष्टाचार गरेको अख्तियारको ठहर छ। आयोगका अनुसार उनले आफ्नो श्रीमती गीता सोडारी र छोरा बबिको नाममा जग्गा खरिद, घर निर्माण तथा बैंक मौज्दात बढाएको अनुसन्धानबाट पुष्टि भएको छ।
२०७४ सालसम्म सोडारी र उनको परिवारको सम्पत्ति ८५ लाख ५१ हजार रुपैयाँ मात्र देखिएको थियो। तर, पदमा रहँदा उनले एक करोड आठ लाख ३८ हजार रुपैयाँभन्दा बढीको अकूत सम्पत्ति आर्जन गरेका छन्।
भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सम्पत्ति जफत गर्दै कैद र जरिवाना मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।