Paschim Express
तीन दशकयताकै बढी वर्षाको पूर्वानुमान, सुदूरपश्चिका दुई लाखभन्दा बढी जोखिममा

काठमाडौँ । आगामी मनसुन सिजनमा सुदूरपश्चिम प्रदेशका दुई लाखभन्दा बढी नागरिक प्राकृतिक विपद्को जोखिममा पर्ने अनुमान गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार सुदूरपश्चिमका ९ जिल्लाका ५२ हजार ११२ घरपरिवार (करीब २ लाख २७ हजार ७३६ जना) बाढी, पहिरो, डुबानलगायतका घटनाबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ।

साँफेबगर नगरपालिकाले आयोजना गरेको एक कार्यशालामा मन्त्रालय अन्तर्गत वातावरण तथा विपद् व्यवस्थापन शाखाका अधिकृत सन्तोष कुमार खत्रीले प्रस्तुत गरेको तथ्यांकमा यस्तो उल्लेख गरिएको हो।

यस वर्ष पछिल्ला ३० वर्षयताकै उच्च वर्षा हुने सम्भावना रहेको र त्यसको मुख्य असर सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा पर्ने उनले जानकारी दिए।

तथ्यांक अनुसार जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढी जोखिममा कञ्चनपुर (३६,८९६), त्यसपछि क्रमशः कैलाली (३२,२८०), बैतडी (३२,१२४), बाजुरा (३०,७६६), डडेल्धुरा (२९,५९३), डोटी (२०,८६९), बझाङ (१६,०९३), अछाम (१५,२१३) र दार्चुला (१३,७९६) रहेका छन्।

अधिकृत खत्रीका अनुसार विपद् व्यवस्थापनमा सबैभन्दा धेरै भूमिका स्थानीय तहको हुने भएकाले तयारी अबिलम्ब सुरु गर्नु जरुरी छ। मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्न सबै स्थानीय तहहरूलाई परिपत्र गरिसकेको पनि उनले बताए।

प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०८२  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update