Paschim Express
सुदूरपश्चिम सरकारले बाम्का बजारका अग्नीपीडितलाई ४० लाख सहयोग गर्ने

धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल ४० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

आइतबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्युनीकरण तथा नियन्त्रण परिषद्को बैठकले बाजुरा आगलागी पीडितका लागि तत्काल बुढीगंगा नगरपालिकालाई ४० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुरामा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई प्रारम्भीक चरणमा ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताए।

उनका अनुसार आगलागीको थप विवरण प्राप्त भएपश्चात प्रदेश सरकारले थप निर्णय गर्नेछ। मानवीय सहायता स्वरूप तत्काललाई प्रदेश सरकारले सम्बन्धित पालिकालाई सो रकम उपलब्ध गराउने र पालिकाले मापदण्ड तयार गरेर आगलागी पीडितलाई रकम उपलब्ध गराउनेछ।

जेठ २३ गते बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको थियो। साथै प्रदेश सरकारले मौज्दातमा रहेका १५ वटा ठूलो टेन्ट, ३४ वटा कम्बल र ३४ वटा त्रिपाल राहत स्वरुपमा उपलब्ध गराउने निर्णय गरेको छ।

प्रकाशित मिति: आइतबार, जेठ २६, २०८२  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update