
डडेल्धुरा- डडेल्धुराको दुर्गम चुडी गाउँका बालबालिकाहरूका लागि शैक्षिक सामग्री हस्तान्तरण गरिएकाे छ। ग्रामिण महिला विकास केन्द्र तथा एकता केन्द्र (रुडुक)को पहलमा बिहीबार भागेश्वर गाउँपालिका–१, चुडी गाउँका २३ जना विद्यार्थीलाई स्कुल झोला, कापी, कलम र ज्यामेट्री बक्ससहित शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।
नारायणी प्राथमिक विद्यालयमा अध्ययनरत २१ जना र छिमेकी पत्रम गाउँमा अध्ययनरत २ जना विद्यार्थीका लागि सामग्री हस्तान्तरण गरिएको हो। तुफानडाँडास्थित रुडुक कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रका केन्द्रीय निर्देशक कृष्णकुमार श्रेष्ठले सामग्री विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा शिक्षकमार्फत हस्तान्तरण गरेका थिए।
रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर साउदका अनुसार विद्यार्थीलाई स्कुल सामग्रीसँगै वर्षायामलाई ध्यानमा राखेर २५ थान रेनकोट पनि उपलब्ध गराइएको छ।
यसैक्रममा, चुडी गाउँमा सक्रिय महिला आर्थिक सशक्तिकरण केन्द्रलाई १८ थान प्लास्टिकका कुर्सीसमेत प्रदान गरिएको छ। उक्त केन्द्र मासिक रूपमा बैठक गरी महिलाका हकअधिकार र समुदायका मुद्दा उठाउँदै आइरहेको छ। केन्द्रकी संयोजक कलापती ठकुराठीका अनुसार प्रत्येक बैठकमा सामान्य रकम संकलन गरेर कोष बनाइएको छ र विकासका योजनाहरू वडा तथा गाउँपालिकामा निरन्तर पेश गरिँदै आएको छ।
महाकाली नदी किनारको माथिल्लो क्षेत्रमा रहेको चुडी गाउँ हालसम्म सडक सञ्जालसँग नजोडिएको दुर्गम बस्ती हो। रुडुकले यसअघि सो गाउँमा उखु पेल्ने मेसिनसमेत सहयोग गरेको थियो। ठकुराठीका अनुसार उखुखेतीमार्फत गाउँमा गुड उत्पादन सुरु गर्नका लागि मेसिनको माग गरिएको थियो, जुन रुडुकले उपलब्ध गराएको हो।
रुडुकको यस पहलले गाउँमा बालबालिकाको पठनपाठनमा सहजता र महिलाको सामाजिक सहभागिता अभिवृद्धि हुने स्थानीयवासीले विश्वास व्यक्त गरेका छन्।