
डडेल्धुरा । दैजी–जोगबुढा सडकखण्डका लागि आगामी आर्थिक वर्ष २०८२/०८३ मा १९ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको बजेट अनुसार उक्त रकम सडकको निर्माण र स्तरोन्नतिका लागि खर्च गरिनेछ।
आर्थिक मामिला मन्त्रालयका अनुसार डडेल्धुरास्थित पूर्वाधार विकास कार्यालयमार्फत दैजी–जोगबुढा–पोखरा–ढुंगाड सडकखण्डका लागि प्रदेश सरकारले १ करोड ४० लाख तथा संघ सरकारले २ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ।
यस्तै, दैजी–लिपना–जोगबुढा–सलौन–पोखरा–ढुंगाड सडकका लागि प्रदेश सरकारले १५ करोड रुपैयाँ छुट्याएको छ भने पूर्वाधार विकास कार्यालय कञ्चनपुरमार्फत दैजी–लिपना खण्डमा ५० लाख विनियोजन गरिएको छ।
हाल कञ्चनपुर खण्डमा नार्गाजुन कन्स्ट्रक्सनले निर्माण कार्य गरिरहेको छ। यद्यपि, कालोपत्रे प्रगति २० प्रतिशतभन्दा कम मात्र छ। निर्माण सम्पन्न गर्ने म्याद पाँचौं पटक थपेर २०८२ असार २० गतेसम्म तोकिएको थियो। डडेल्धुरा खण्डमा भने राजेन्द्र शर्मा जेभीले म्याद असार मसान्तसम्म पाएका छन्। तर हालसम्म जम्मा दुई किलोमिटर मात्र कालोपत्र भइसकेको र पाँच किलोमिटर कालोपत्रे चरणमा रहेको डडेल्धुरा पूर्वाधार विकास कार्यालय प्रमुख नवराज रावलले जानकारी दिए।
लिपनादेखि गाईबाधेसम्मको १९ करोड लागतको खण्डमा बजेट अभावले काम सुस्त भएको जनाइएको छ। सो क्षेत्रमा करिब ५० प्रतिशत भौतिक प्रगति भएको छ। झन्डै ४० वर्षअघि ट्रयाक खुलेको दैजी–जोगबुढा सडकमा आठ वर्षअघि कालोपत्रे सुरु भए पनि निर्माण कार्य अझै अपूरो छ।
डडेल्धुराको झन्डै आधा जनसंख्यालाई कञ्चनपुरसँग जोड्ने यो सडक भीमदत्त राजमार्गको विकल्पका रूपमा समेत हेरिएको छ। तर पछिल्ला वर्षमा राजनीतिक नेतृत्वको प्राथमिकताबाट बाहिरिएको देखिन्छ। कांग्रेस सभापति शेरबहादुर देउवाले संघ सरकारमार्फत गत वर्ष ३८ करोड विनियोजन गराए पनि प्रदेशको ठेक्का कायम रहेकाले बजेट फ्रिज भएको थियो।