Paschim Express
नासाको सुरक्षा कमजोरी पत्ता लगाउने डडेल्धुराका विपिनलाई अन्तर्राष्ट्रिय सम्मान

डडेल्धुरा । डडेल्धुराका युवा साइबर सुरक्षा अनुसन्धानकर्ता विपिन साउदले अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ‘हल अफ फेम’मा स्थान बनाउन सफल भएका छन्। उनले नासाको प्रणालीमा रहेको गम्भीर सुरक्षा कमजोरी पत्ता लगाएर रिपोर्ट गरेपछि नासाले औपचारिक प्रशंसा पत्र प्रदान गर्दै उनीप्रति सम्मान प्रकट गरेको हो।

२२ वर्षीय साउदले नासाको एक अनुसन्धान प्रतिवेदनमा समावेश गरिएको सार्वजनिक गुगल ड्राइभ लिङ्कमा ‘ब्रोकन एक्सेस कन्ट्रोल’ भनिने खतरनाक कमजोरी फेला पारेका थिए। उक्त त्रुटिका कारण संवेदनशील अनुसन्धान कागजात, व्यक्तिगत विवरणहरू र ‘@nasa.gov’ इमेल भएको कर्मचारीको फाइलसमेत जोकोहीले हेर्न, सम्पादन गर्न वा मेटाउन सक्ने अवस्था रहेको थियो।

साउदका अनुसार, नासाको एक अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको पीडीएफ फाइलमार्फत उनले सार्वजनिक रूपमा पहुँचयोग्य गुगल ड्राइभ फोल्डर पत्ता लगाएका थिए। “त्यो फोल्डरमा संवेदनशील फाइलहरू कुनै पनि व्यक्तिले सजिलै हेर्न, सम्पादन गर्न वा मेटाउन सक्ने अवस्था थियो,” उनले भने, “यहाँसम्म कि म त्यस फोल्डरका कोलाबोरेटरहरूलाई हटाउन पनि सक्षम थिएँ।”

साउदले यस्ता तीन फरक–फरक कमजोरीहरू फेला पारी बग क्राउड नामक प्लेटफर्ममार्फत नासालाई रिपोर्ट गरे। नासाको सुरक्षा टोलीले ती त्रुटिहरू ‘गम्भीर’ (P3-Critical) श्रेणीमा राख्दै समाधान गर्‍यो र साउदलाई प्रशंसा पत्र प्रदान गर्‍यो। बग क्राउडमा उनको नाम सूचीकृत भइसकेको छ, जुन ‘नासाको हल अफ फेम’मा समावेश हुनुको रूपमा मानिन्छ।

c26c6e03-f600-425b-bbb1-b8d9992d1629-1750152770.jpeg
 

विगतको सफलता
साइबर सुरक्षामा लामो समयदेखि रुचि राख्दै आएका साउद यसअघि पनि सामाजिक सञ्जाल कम्पनी फेसबुक (मेटा) मा भएको गोपनीयता सम्बन्धी कमजोरी पत्ता लगाई १ हजार अमेरिकी डलर पुरस्कार जितिसकेका छन्।

डडेल्धुराको अमरगढी नगरपालिका–५ निवासी साउद हाल टेक्सस इन्जिनियरिङ कलेजमा कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजीअन्तिम वर्षमा अध्ययनरत छन्। सुरुमा वेभ डेभलपमेन्टमा संलग्न उनी पछिल्लो समय वेभ सेक्युरिटी तथा बग बाउन्टी हन्टिङमा केन्द्रित छन्।

हालसम्म उनले ५० भन्दा बढी कम्पनीका प्रणालीमा कमजोरीहरू पत्ता लगाई लाखौं रुपैयाँ आम्दानी गरिसकेका छन्। आफ्नै आम्दानीबाट अध्ययन खर्च धान्दै आएका साउदले परिवारलाई समेत सहयोग गरिरहेका छन्।

यो पनि
फेसबुकको ‘त्रुटि’ पत्ता लगाउने डडेल्धुराका विपीन, कलिलै उमेरमा कमाउँछन् लाखौं

 

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update